खोटाङको केपिलासगढी गाउपालिका थप १० दिनका लागि बन्द

बाक्सिला – कोरोना भाइरस न्यनीकरण साथै मध्यनजर गर्दै खोटाङको केपिलासगढी गाउँपालिकाको अत्यावश्यक काम बाहेकका कामकाज थप १० दिनका लागि बन्द गरिएको छ। कोरोना संक्रमितलाई उपचार गरेर निको बनाउनुभन्दा पनि ‘संक्रमण हुन नदिनु बुद्धिमानी हुने’ ठहर गर्दै गत जेठ २ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार १५ दिनका लागि अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको गाउँपालिकाले महामारीको अवस्था नसुध्रिएको भन्दै थप १० दिनका लागि अत्यवश्यक सेवा बारेक बन्द गरेको हो ।
मंगलबारदेखि लागू हुनेगरी थप १० दिनका लागि गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अति आवश्यक बाहेकका सेवा प्रवाह रोकिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले जारी गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाभित्र पनि संक्रमित भेटिएकाले थप महामारी फैलिन नदिन कार्यालयको सेवा बन्द गर्नुको साथै यातायात, हिँडडुल र घुमफिरमा निषेध गरी महामारीको रोकथाम गर्नुपर्ने अवस्था आएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरसको दोस्रो लहर ज्यादै जोखिमपूर्ण रहेको ठहर गर्दै स्वास्थ्य पुर्वाधार, स्वास्थ्य सेवा सुविधाको अवस्था, जनशक्ति, कोरोना भाइरसबाट बच्नका लागि अत्यावश्यक स्वास्थ्या सामग्री तथा तत्काल संक्रमितलाई उद्धार गर्न बाटोको अवस्था समेत खराब रहेको कारण देखाउँदै यसअघि देखि गाउँपालिकाको अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।
वर्षाको सिजन सुरु भएसँगै सडकको नाजुक अवस्था हुने भएकाले संक्रमितलाई अन्यत्र लैजान समस्य पर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पालिका प्रवेशका लागि ७२ घण्टाभित्रको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने, बुधबार बाहेकका अन्य बार दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म मात्र पसल खोल्ने, पसल खोल्दा पसलको एउटा ढोका मात्र खुला गर्ने, पसल बाहिर वा पेटीमा सामान नफिजाउँने, यातायात व्यवसायीले गाउँपालिका बाहिरबाट आएका सवारी साधन तथा यात्रुको विवरण गाउँपालिकालाई नियमित उपलव्ध गराउनुपर्ने, गाउँपालिकाभित्र साप्ताहिकरुपमा लाग्ने हटियाहरु बन्द गर्ने लगायतका स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको गाउँपालिकाले जनाएको छ










