News Portal

सुकेटार विमानस्थलको नाम परिवर्तन, जनस्तरमा व्यापक विरोध

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाण्डौ – सरकारले ताप्लेजुङमा रहेको एक मात्र विमानस्थल सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ घोषणा गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालको बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थललाई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेका हुन् ।

नेकपा एमालेका नेतासमेत रहेका स्व. अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो। उक्त दुर्घटनामा नेता अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत सात जनाले ज्यान गुमाएका थिए। सरकारले तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गरी ‘आङछिरिङ शेर्पा विमानस्थल’ बनाउने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरेपछि सो कार्यको आलोचना तथा विरोध गरिएको छ ।

माओवादी केन्द्रका नेता तथा प्रदेश नं १ का सांसद इन्द्र आङ्बोले सरोकारवालाहरुसँग छलफल नै नगरी नाम परिवर्तन गरिएको भन्दै आफ्नो कमजोरी सच्याउन सरकारसँग आग्रह गरेका छन् । सरोकारवालाहरुसँग छलफल नगरी गरिएका यस्ता कार्यहरु रैथाने इतिहास, संस्कृति, पहिचानमाथि राज्यको नाङगो हस्तक्षेप र हेपाहा प्रवृत्ति रहेको उनको प्रतिक्रिया छ ।

‘स्व. रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरु कुनै नयाँ पूर्वाधारमा वा उहाँहरुको आफ्नै भौगोलिक क्षेत्रमा महत्वपूर्ण आयोजनामा नामाङ्कन गरोस् । तर आफ्नै इतिहास, पहिचान, रैथाने संस्कृतिमा आधारित ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम जे छ त्यही रहन दिनुपर्छ वा नयाँ नामाकरण गर्ने भए सरकोकारवालासँगको अन्तरक्रियाको निष्कर्षको आधारमा टुंगोमा पुग्नुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यको हस्तक्षेप र हेपाहा प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रमाणीमाथि नै आक्रोश, अविश्वास र घृणा पैदा गराउँछ र भिडन्ततर्फ लैजान्छ । बजेटमार्फत भएको यो गम्भीर कमजोरीलाई सरकारले समयमै सच्याओस् ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सरकारले रवीन्द्र अधिकारी र आङ्छिरिङ शेर्पाको ठाउँमा उनीहरुको सम्मानका लागि नाम राख्ने प्रस्ताव ल्याए ठिक भए पनि उनीहरु जन्मेको ठाउँभन्दा धेरै टाढा ताप्लेजुङको सुकेटार र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई रविन्द्र अधिकारी र आङछिरि शेर्पा विमानस्थल नामाकरण गर्नु केपी ओलीको उपनिवेशी सोंच रहेको टिप्पणी गरेका छन् ।

‘कास्की र सोलुमा उहाँहरुको नाममा नयाँ विमानस्थल बनाऊ, हाम्रो आपत्ति छैन,’ लङ्देनले भनेका छन्, ‘तर उहाँहरु आफू जन्मेको भन्दा धेरै टाढा, आफ्नो कार्यक्षेत्र भन्दा धेरै टाढा ताप्लेजुङको सुकेटार र तह्रथुमको चुहानडाँडा विमानस्थललाई रवीन्द्र अधिकारी र आङ्छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिनु नवमनुवादी केपी ओलीको उपनिवेशी सोंच हो ।’

उनले लिम्बुवानको पहिचान नष्ट गर्न उद्दत रहेका केपी शर्मा ओली र उनलाई साथ दिने गाउँगाउँका दलालहरुविरुद्ध ढिलोचाडो निर्मम खालको लडाईं लड्न जरुरी रहेको उल्लेख गरेका छन् ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण एउटा प्रतिनिधि घटनामात्र भएको भन्दै अब प्रतिवाद गर्नुपर्ने औल्याएका छन् । उनको भनाइ छ, ‘एकल जातिवादी नश्लवादी शासकको हामीमाथिको अतिक्रमण फेहरिस्त लामो छ । चेत खुलाऔं र प्रतिवाद गरौं ।’

उनले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनुको एउटै तर्क बहालवाला मन्त्री ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) जाँदा हेलिकप्टर दुर्घटनामा मृत्यु हुनु हो भने उनीभन्दा अघि सोही स्थानमा बहालवाला मन्त्री गोपाल राईको पनि त्यसरी नै मृत्यु भएको स्मरण गराए। बरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई रवीन्द्र अधिकारीको नाम दिए राम्रो हुने उनको भनाई छ ।

सरोकारवाला समूह वा नागरिकहरुसँग छलफल र परामर्श नै नगरी सुकेटार विमानस्थलको नाम परिवर्तन गरिएकोमा एमाले नेता योगेश भट्टराईले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका नेता भट्टराईले असल काम पनि सही नियत र सही प्रक्रियाबाट गरियो भने मात्र परिणाममा पुग्न सकिने र विवाद नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...