News Portal

समसामयिक मुक्तकहरू

हिमालीसंचार संवाददाता
८९४ पटक

मुक्तक – १

नीतिसिति सबै कुरा विकारजस्तै भयो
गर्व गर्ने चिज पनि धिक्कारजस्तै भयो
बाघचालमा शासकले बाख्रा थुनिरहेछ
लुटेराको लुटमा देश शिकारजस्तै भयो !

मुक्तक – २

पीरको पर्वत छोपिदिने बर्को कहाँ होला
खाडीबाट स्वदेश फिर्ने लर्को कहाँ होला
थाहा भए भनिदिनुस् आज मलाई हजुर
भोकभन्दा ठुलो काव्य अर्को कहाँ होला ?

मुक्तक – ३

जिउँदै मर्यो भनी लेख्ने पत्रकार छँदैछ नि
शहरभरि हेरी अघाउने परिकार छँदैछ नि
चिन्ता किन गर्दछौ आज ए देशबासीहरू
मूर्दाको पनि भत्ता थाप्ने सरकार छँदैछ नि !

मुक्तक – ४

भोका नाङ्गा भेट्यो भने बाटो तर्की जान्छ
अरूको श्रम पसिनामा पानी छर्की जान्छ
के देख्छ र मान्छे यहाँ धनको पछि लाग्छ
नाङ्गै आउँछ यो धर्तीमा नाङ्गै फर्की जान्छ !

मुक्तक – ५

अरूको भाग मानो छैन आफू थाप्छ मुरी
आफन्तले डण्डी बोके आफू बोक्छ छुरी
अहंकारले डसेपछि विष झार्न गाह्रो हुन्छ
छरछिमेकीले हात्ती चढे आफू चढ्छ धुरी !

मुक्तक – ६

मख्न मस्यौरा मन्त्र पनि घरघरैमा ल्याउँछ
दारू भारू आरू सर्वत छेलोखेलो प्याउँछ
बीउ विर्य बिमारी भोकमारी जम्मै उतैबाट
उसले चाहेमा यो देशमा राँगो पनि ब्याउँछ !

मुक्तक – ७

धर्मको त्रासले भक्तजन मनाएर के हुन्छ र
अचेतन लस्करलाई रथ तनाएर के हुन्छ र
भन अब पादरी, मुल्लाहा र पुजारीहरू हो
मूर्दाहरूले ढोग्ने मन्दिर बनाएर के हुन्छ र ?

मुक्तक – ८

जिन्दगीको अँधेरी पनि ढलिजाने रात न हो
मोह जाग्नु मनको नै अहंकारको मात न हो
राग विराग पक्ष-विपक्ष प्रकृतिसँग केही हुन्न
जन्मसाथै मृत्यु आउँछ समयको बात न हो !

मुक्तक – ९

सज्जन जति दुश्मन भए दुर्जन जति दोस्ति
निर्धनलाई भोककै चिन्ता साहुलाई त मस्ति
मानिसजस्तो स्वार्थी प्राणी आज अर्को छैन
रङ्कलाई त शासन भो रैतीहरूलाई सास्ति !

मुक्तक – १०

हरेक रातपछि ब्युँझी उठ्ने विहान भए पुग्छ
जिन्दगीमा सँगसँगै जिउने जाहान भए पुग्छ
के पो गर्छौ र दौलत थुपारेर मर्दा लाने होइन
आखिरीमा ९ फिटको एक चिहान भए पुग्छ !

✍ प्रथा।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...