काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको कुनै पत्तो छैन।
घरको आर्थिक अवस्था सुधार गर्न भन्दै वैदेशिक रोजगारीमा गएकी दोलखाकी ३२ वर्षीया माया (नाम परिवर्तन) अघिल्लो वर्ष रित्तो हात घर फर्कन पाउँदा पनि निकै खुसी थिइन्। दलालको लहलहैमा लागेर टर्की गएकी उनको अनुभवमा महिलाका लागि वैदेशिक रोजगारी नेपालबाट सोचेजस्तो सरल र सहज छैन।
हाउसमेडको काम गर्न टर्की गएकी उनलाई त्यहाँ एकातिर घरको काम भ्याउनु त छँदै थियो, अर्कोतिर घरधनी र उसका पाहुनाको यौन प्यास मेटाउने काम पनि थपिएको थियो। हाउसमेडको काम थालेको केही दिनमै अन्य काम थपिएपछि उनी टर्कीमा टिक्न सकिनन्। पछि रोजगारीकै क्रममा साउदी अरेबियामा रहेका दाजुको सहयोगमा उनी घर फर्कन सकिन्। ‘दाजुले सहयोग नगर्नुभएको भए म सायदै नेपाल फर्कन सक्थेँ,’ उनले घर फर्कन सक्नुको सफलता सुनाइन्।
वैदेशिक रोजगारीका लागि टर्की पुगेकी माया दाजु साउदीमा रहेका कारण र उनीसँग सम्पर्क हुँदा घर फर्कन सके पनि बर्दियाकी जानकी जस्ता हजारौँ महिला भने यतिखेर कहाँ र कुन अवस्थामा छन् भन्नेबारे न परिवार, न राज्य संयन्त्रलाई थाहा छ। लामो समयदेखि सम्पर्क विहीन त्यस्ता महिलाप्रति सबैको एउटै सहानुभूति सुनिन्छ– विचरा विदेश नगएको भए हुन्थ्यो !
कुवेत जान भनेर २०७० चैत २० गते घर छाडेकी जानकीले एकपटक कुवेतबाट फोन गरेकी थिइन्, त्यसयता कुनै सम्पर्क नगरेको परिवारजनको भनाइ छ। ‘लामो समयसम्म सम्पर्क नभएपछि खोजीका लागि जिल्ला प्रहरी तथा विभिन्न उद्धार गर्ने संस्थामा निवेदन दिएका छौं,’ पीडितकी आमा भन्छिन्, ‘यतिखेर सुरुमा छोरीले दिएको नम्बरमा सम्पर्क गर्दा फोन लाग्दैन। पठाउने व्यक्तिको खोजी गर्दा फेला पर्दैनन्।’
कुवेत जानुअघि छोरीले साथीमार्फत चिनेको व्यक्तिले विदेश पठाउन थालेको खबर गरेपनि त्यो व्यक्ति को थियो भन्ने पूर्ण जानकारी नदिएका कारण यतिखेर खोजीमा समस्या भइरहेको जानकीकी आमा बताउँछिन्। कुवेत जानुअघि जानकीले परिवारलाई राहदानी बनाउँदाको र हवाई टिकट खर्चसमेत दलालले व्यहोर्ने जानकारी दिएकी थिइन्। ‘२४ वर्ष पुगेकी छोरीले पटकपटक विदेश जान्छु भनेपछि रोक्न सकेनौँ,’ जानकीकी आमाले भनिन्, ‘कमाउन गएकी छोरी सम्पर्क विहीन होलिन् भनेर अनुमान गर्न सकेको भए अहिले यस्तो चिन्ता गरेर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।’
कुवेत पुगेको एक सातापछि छोरीले त्यहाँ घरेलु काम गरेको र काम निकै गाह्रो रहेको जानकारी दिएको उनले बताइन्। त्यतिखेर जानकीले रुँदै कुवेतको घरेलु काम कष्टकर रहेको जानकारी गराए पनि तत्काल उद्धार गर्न नसक्नु आफ्नो कमजोरी भएको उनको भनाइ छ।
कमाउने र घरपरिवारलाई सुखी राख्ने मनसायका साथ बिदेशीएर सम्पर्क विहीन भएकी जानकी एक्ली भने होइनन्। वैदेशिक रोजगारीका लागि बर्सेनि महिला सम्पर्क विहीन हुने क्रम जारी रहेपनि त्यस्तो समस्या समाधानको उपाय सरोकारवाला अझै फेला पार्न सकेका छैनन्।
सम्पर्कविहीनको तथ्यांक छैन: विभाग
राहदानी विभागका अनुसार हालसम्म करिब ११ लाख महिलाले राहदानी लिएका छन्। तर वैदेशिक रोजगार विभागले करिब साढे दुई लाख महिलाले मात्र रोजगारीमा जान श्रम स्वीकृति लिएको जनाएको छ। राहदानी बनाएका तर श्रम स्वीकृति नलिएका कैयन् महिला अवैध बाटो प्रयोग गरी वैदेशिक रोजगारीमा गएको अनुमान छ।
अवैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएका महिला विदेशमा सम्पर्कविहीन भएको धेरैको अनुमान छ। तर, सम्बद्ध निकायले राहदानी लिएका महिलाहरू कहाँ पुगे भन्नेबारे अझैसम्म गहिरो अध्ययन र खोजी नगर्दा धेरैले ठूलो संख्याका महिला खाडी मुलुक र मलेसियाजस्ता देशमा बेपत्ता भएको अनुमान लगाउने गरेका छन्।
सरकारी कर्मचारीहरू महिला बेचबिखन बढी हुने तथ्यांक रहेका नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरजस्ता जिल्लाका महिलाले बढी राहदानी लिएको पाइएको बताउँछन्। श्रम स्वीकृति नलिएर विदेश जाने तथा विदेशबाट फर्कनेको विवरण कतै भेट्न सकिँदैन। ‘अवैध ढंगबाट बाहिरिएका महिलाको रेकर्ड सरकारी निकायमा हुँदैन,’ वैदेशिक रोजगार विभागका कर्मचारीले भने, ‘राहदानी लिएकामध्ये धेरै बेचबिखनमा परेका हुन सक्छन्। त्यसैले उनीहरूको अवस्था खोजी हुनुपर्छ।’
घरेलु कामदारमा पठाउन अझै अन्योल !
घरेलु कामदारको रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा जान हुन्छ या हुँदैन ? यतिखेर नेपाली श्रम बजारमा चर्को रूपमा उठेको प्रश्न हो। घरेलु कामदारको रूपमा महिलालाई खाडी मुलुक पठाउँदा आर्थिक र शारीरिक शोषण हुने खतरा छ, नपठाउँदा महिला अवैध तरिकाले बाहिरिने जोखिम छ।
यस्तै, अलमलबीच तत्कालीन सरकारले २०७२ वैशाख ८ गते घरेलु कामदार महिलासम्बन्धी निर्देशिका ल्याए पनि अझै कार्यान्वयन नहुँदा महिला अवैध तरिकाले विदेश जाने गरेको पाइएको छ। तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महिलालाई घरेलु काममा खाडी मुलुकमा नपठाउन निर्देशन दिएपछि समस्या बल्झिँदै आएको छ।
विभिन्न स्रोतका अनुसार यतिखेर खाडी मुलुक र मध्यपूर्वका विभिन्न देशमा नेपाली महिलाको माग अत्यधिक छ। सरकारले नै वैध बाटो बन्द गरेपछि यतिखेर कतिपय महिला सरकारको नयाँ निर्णयको पर्खाइमा छन् भने कतिपय अवैध बाटो हुँदै घरेलु कामदारको रूपमा खाडी मुलुक पस्न थालेका छन्। कतिपय महिला श्रम स्वीकृति लिँदा फरक काम देखाउने र खाडी मुलुकमा पुगेपछि घरेलु कामदार बन्न थालेको पाइएको छ।
समितिको निर्णय सरसर्ती हेर्दा महिलालाई सुरक्षित राख्ने भन्ने नै देखिन्छ, तर त्यसबाट महिला सुरक्षित रहुनुको साटो झन् जोखिममा पर्ने खतरा देखिएकाले त्यसबारे ठोस निर्णय गर्नुपर्ने बेला आएको बताउनेहरू प्रशस्तै छन्। खासगरी भारतसँगको खुला सिमानाले गर्दा महिला सहजै भारत पस्ने र त्यहाँबाट घरेलु कामदार बन्न खाडी मुलुक जाने घटना वृद्धि भएकाले सरकारी निर्णयले महिला झन् बढी जोखिममा पर्न थालेको तर्क गर्न थालिएको छ।
नागरिकन्यूजका अनुसार, पछिल्लो समय वैदेशिक रोजगारीबारे दैनिक सरदर १० उजुरी पर्ने क्रम जारी रहेपनि पीडितलाई सहायता प्रदान गर्न निकै गाह्रो परिरहेको छ। अधिकांशको उजुरी ललाइफकाइ विदेश लगेको भन्ने खालको हुने महानगरीय परिसरका प्रहरी अधिकृत बताउँछन्।