टेथिस सागर
सुकेर गयो र हिमालय पर्वत बन्यो
शासकहरू आए
र शासन गर्दागर्दै एक दिन मरेर गए
नदीहरू सुसाउँदै बगे
र ऒरालो झर्दाझर्दै एक दिन बगर बने
फूलहरू फुले
र माधुर्यता छर्दाछर्दै एक दिन झरेर गए !
सायद,
म ओरालो झरिरहेछु
आफ्नै उमेरको यो बूढो पहाडबाट !
तर ऊ भने
समयको बाह्रौं खुड्किलो नाघेर
हरेकचोटि आउँछ
यौवनको गीत गाउँदै मेरो विश्वासको संघारमा !
यस्तो लाग्छ
श्रृष्टिको अनादि कालदेखि नै
ऊ निरन्तर चढिरहेछ
आफ्नै जीवनको अग्लो उर्जाशील पहाड !
टारीखेत जोतेर
अब छर्नु छ— सुन्दर कविताको बिऊ !
र उमार्नु छ
एउटा सम्मृध्द देशको अनुहार !
जीवनरस सुकेर
गुलाव नफुलेको पनि
आज वर्षौं बितिसकेछ— यो माटोमा !
ओ नव वर्ष !
तिमीलाई स्वागत छ
मनका सहस्र आँखीझ्यालहरूमा
आँखाभरि इन्द्रेणी सपना बोकेर आऊ !
✍प्रथा।