News Portal

खगेन्द्र गिरि “कोपिला”का दश मुक्तक

हिमालीसंचार संवाददाता
४७१ पटक

मुक्तक – १
पीपलको एउटा पात हजुरको नाममा काटिदिन्छु।
मेरो यो जिउँदो हात हजुरको नाममा काटिदिन्छु।
कैलेकही यी आँखामा डुब्न आउनु भयो भने-
एउटा यो सिंगो रात हजुरको नाममा काटिदिन्छु।

मुक्तक – २
श्वास प्रश्वास बढाएर गुम्सिन के सकिएला र?
चाहनानै पन्छाएर फुत्किन के सकिएला र?
मनको पर्खाललाई आफै भत्काइसकेपछि।
आलिङ्गनबाट त्यसै छुट्टिन के सकिएला र?

मुक्तक – ३
आउनुहोस् एकछिन अँध्यारोमा हराएर हेरौं।
आफूलाई एकअर्कोमा लीन गराएर हेरौं।
केही लिने र केही दिने प्रकृयाको क्रममा
केही गुमाएर अनि केही पाएर हेरौं।

मुक्तक – ४
केही मनलाग्दी गर्नु छ, केही गरिनु छ।
केही समेट्नु छ मनमा, केही छरिनु छ।
भरेर हजुरको फराकिलो आगोसलाई ।
बचाएर अलिकति म पनि भरिनु छ।

मुक्तक – ५
बादलभित्र जुनताराझैं छोपिएर हेरौंला।
कति बाटो हिड्यौं? केहिबेर रोकिएर हेरौंला।
अग्निको ज्वालाजस्तै दन्कियो भने रहर-
मनको सरिता बगेझैं पोखिएर हेरौंला ।

मुक्तक – ६
छोएर मनको आँगन त्यसै किन फर्किनु र !
सुनेर श्वास र धड्कन त्यसै किन फर्किनु र !
मनोलोकको वल्लो किनारमा खेल्दाखेल्दै एकछिन
तोडेर सीमा बन्धन त्यसै किन फर्किनु र !

मुक्तक – ७
आँखाको पोखरीमा जूनले विहार गरेजस्तो।
सगरबाट उल्कापातले झर्न हतार गरेजस्तो।
किन सकिँदैन होला वर्णन गर्न त्यो क्षणलाई?
अरु बेला यही मनले अनेक विचार गरेजस्तो।

मुक्तक – ८
नदीको बेगझैं बग्नमैं निर्लिप्त भैदिएँ भने !
सूर्योदयको रङ्जस्तै प्रदिप्त भैदिएँ भने !
कहाँ गएर गर्ने होला रहरको लेखाजोखा?
तृप्त भएर पनि म अतृप्त भैदिएँ भने ?

मुक्तक – ९
श्रावणको वर्षातले नुहाएर फर्किउँला हुन्न ?
कुनै साझा उन्मादले नुहाएर फर्किउँला हुन्न?
हजुर आँखा चिम्लिनु,म ढुकढुकी रोकिदिउँला-
त्यही पलको सौगातले नुहाएर फर्किउँला हुन्न?

मुक्तक – १०
थाहै नपाएर भैदिएको स्पर्श, मञ्जुर छ।
मुटुको तडप र शरीरको संघर्ष, मञ्जुर छ।
आँखा चिम्लिएर मदहोशीमा पुगेको बेला-
जेजे भन्छ स्थितिले मलाई सहर्ष, मञ्जुर छ।

खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज, बाँके।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...