मुक्तक – १
पीपलको एउटा पात हजुरको नाममा काटिदिन्छु।
मेरो यो जिउँदो हात हजुरको नाममा काटिदिन्छु।
कैलेकही यी आँखामा डुब्न आउनु भयो भने-
एउटा यो सिंगो रात हजुरको नाममा काटिदिन्छु।
मुक्तक – २
श्वास प्रश्वास बढाएर गुम्सिन के सकिएला र?
चाहनानै पन्छाएर फुत्किन के सकिएला र?
मनको पर्खाललाई आफै भत्काइसकेपछि।
आलिङ्गनबाट त्यसै छुट्टिन के सकिएला र?
मुक्तक – ३
आउनुहोस् एकछिन अँध्यारोमा हराएर हेरौं।
आफूलाई एकअर्कोमा लीन गराएर हेरौं।
केही लिने र केही दिने प्रकृयाको क्रममा
केही गुमाएर अनि केही पाएर हेरौं।
मुक्तक – ४
केही मनलाग्दी गर्नु छ, केही गरिनु छ।
केही समेट्नु छ मनमा, केही छरिनु छ।
भरेर हजुरको फराकिलो आगोसलाई ।
बचाएर अलिकति म पनि भरिनु छ।
मुक्तक – ५
बादलभित्र जुनताराझैं छोपिएर हेरौंला।
कति बाटो हिड्यौं? केहिबेर रोकिएर हेरौंला।
अग्निको ज्वालाजस्तै दन्कियो भने रहर-
मनको सरिता बगेझैं पोखिएर हेरौंला ।
मुक्तक – ६
छोएर मनको आँगन त्यसै किन फर्किनु र !
सुनेर श्वास र धड्कन त्यसै किन फर्किनु र !
मनोलोकको वल्लो किनारमा खेल्दाखेल्दै एकछिन
तोडेर सीमा बन्धन त्यसै किन फर्किनु र !
मुक्तक – ७
आँखाको पोखरीमा जूनले विहार गरेजस्तो।
सगरबाट उल्कापातले झर्न हतार गरेजस्तो।
किन सकिँदैन होला वर्णन गर्न त्यो क्षणलाई?
अरु बेला यही मनले अनेक विचार गरेजस्तो।
मुक्तक – ८
नदीको बेगझैं बग्नमैं निर्लिप्त भैदिएँ भने !
सूर्योदयको रङ्जस्तै प्रदिप्त भैदिएँ भने !
कहाँ गएर गर्ने होला रहरको लेखाजोखा?
तृप्त भएर पनि म अतृप्त भैदिएँ भने ?
मुक्तक – ९
श्रावणको वर्षातले नुहाएर फर्किउँला हुन्न ?
कुनै साझा उन्मादले नुहाएर फर्किउँला हुन्न?
हजुर आँखा चिम्लिनु,म ढुकढुकी रोकिदिउँला-
त्यही पलको सौगातले नुहाएर फर्किउँला हुन्न?
मुक्तक – १०
थाहै नपाएर भैदिएको स्पर्श, मञ्जुर छ।
मुटुको तडप र शरीरको संघर्ष, मञ्जुर छ।
आँखा चिम्लिएर मदहोशीमा पुगेको बेला-
जेजे भन्छ स्थितिले मलाई सहर्ष, मञ्जुर छ।
खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज, बाँके।