– ऋतु सिंह
प्रिय जिन्दगी !
जीवनका गोरेटोमा
नहिडेका डोबका चिन्हमा
यो सुनौलो दिनमा तिमीले
स्वर्णिम अक्षरले सुन्दर
नाम लेख्न पुगेछौ
तर
यी डोबहरुमा लेखिएको नामले
म कति रोमाञ्चित भएकी छु
चाहे त्यो भौतिक होस् या
आध्यात्मिक भेदले
भरिएको किन नहोस्।
त्यो आँखाको सानो
नानीबाट देखिएको
अनन्त आकासको
हजारौं ताराहरुको
भिडमा एक ध्रुवतारा
नै त रहेछ
जुन हेर्दा सानो
जुनकीरीझैं लाग्दथ्यो
हेर्दा मोती पनि त
कति सानो हुन्छ
मुटुको केन्द्र झल्का झन् त
सबैभन्दा सानो हुन्छ है ?
जब
बालुवाको कणमा लेखिएको
त्यो नामलाई यसरी नै
सूक्ष्मदर्शी यन्त्रले
हेरिरहने छौ, हेरिरहने छौ
तब
जो ॐकारको बिन्दुझै यही
परमानन्द घनिभूत हुनेछु।