News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मुन्धुममा रासायनिक विज्ञान र रक्सीको आविष्कार !

    हिमालीसंचार संवाददाता
    ४८७ पटक

    संयोगवश यहाँको रैथाने उत्पादन जाँड र रक्सीलाई ब्रान्ड बनाउने वहस चलिरहेको छ। ठीक यति नै बेला त्यो जाँड र रक्सी बनाउँदा प्रयोग हुने रासायानिक प्रक्रिया र मुन्धुमी ज्ञान र दृष्टिकोणलाई जोडेर हेर्नु सान्दर्भिक हुन्छ।

    भौतिक तथा रासायनिक विज्ञानमा मुन्धुमले गरेको आविष्कारमध्ये जाँड एउटा महत्त्वपूर्ण आविष्कार हो। जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो। जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ। आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन।

    जाँड बनाउने प्रक्रियाअनुसार सर्वप्रथम तयारी मर्चा उसिनेर सेलाएको मनतातो अन्नमा पिठो बनाएर घोलिन्छ। त्यसपछि त्यो अन्नलाई गुम्स्याएर तातो ठाउँमा राखिन्छ। दुईतीन दिनको रासायनिक प्रतिक्रियापछि त्यसको स्वाद परिवर्तन भई गुलियो हुन्छ। त्यसलाई माटोको घैलामा हालेर हावा नछिर्ने गरी बुझो लगाएर राखिन्छ। त्यसपछि केही समयको निरन्तर रासायनिक प्रतिक्रियापछि फेरि त्यसको स्वाद र गुण रुपान्तरण हुन्छ। फलस्वरूप उक्त घैलामा राखिएको अन्न अल्कोहलको कच्चा पदार्थका रूपमा परिवर्तन हुन्छ। यसलाई हाम्रो सामाजिक बोलिचालीको भाषामा जाँड भनिने गरिएको छ। यसको मुन्धुमी नाम वाछोन, वासिम हो। त्यति बेलासम्ममा उक्त जाँड रक्सी पार्न तयार भइसकेको हुन्छ। मुन्धुमले आविष्कार गरेको अर्को महत्त्वपूर्ण आविष्कार भनेको रक्सी हो। यसको संरचनामा यो ब्रह्माण्ड, पृथ्वी तथा प्राकृतिक चक्रको हुबहु नक्कल गरिएको छ। रक्सीको यो संरचनामा किन प्राकृतिक चक्रको नक्कल गरियो त ? यो निकै महत्त्वपूर्ण प्रश्न छ, जसको जवाफको खोजबाट धेरै कुरा पत्ता लगाउन सकिन्छ।

    रक्सी बनाउने तरिकालाई मिहिन ढंगले हेर्ने हो भने ब्रह्माण्ड, पृथ्वी र प्राकृतिक तत्त्व र त्यसको चक्रको बारेमा निकै लामो समयसम्मको गहिरो र मिहिन अध्ययनको रूप र सार दुवै कुरा यसभित्र देख्न सकिन्छ। सम्भवतः यो नै संसारको सबैभन्दा पहिलो भौतिकवादी विज्ञानको ऐतिहासिक दार्शनिक धारणा हो; जो हजारौं वर्ष लगाएर गरिएको अध्ययन, अनुसन्धान तथा ज्ञानको समष्टिगत योग हो। यो नै मुन्धुमी दर्शनको ऐतिहासिक दस्तावेज हो। यो भौतिक जगत् र त्यसको चक्रलाई सबैभन्दा सजिलो तरिकाबाट प्रयोग गरेर बुझ्न सक्ने, जान्न सक्ने र देख्न सक्ने एक भव्य वैज्ञानिक प्रयोगशाला पनि हो।

    रक्सी बनाउँदा एउटा गोलो मुख भएको ठूलो भाँडामा पानीसँग घोलेर जाँड राखिन्छ। भाँडोको मुखवरिपरि माथिबाट पैनी राखिन्छ। पैनीको आकार गोलो तर बीचमा अलि फुकेको हुन्छ। पैनीको पिँध वरिपरि आठ–नौवटा प्वाल पारिएको हुन्छ। उक्त भाँडामाथि राखिएको पैनी र भाँडाको मुख वरिपरि जोडिएको ठाउँमा खरानी अथवा गोबरले लिपेर टाल्ने गरिन्छ। किनकि भित्रको बाफ बाहिर निस्किन नसकोस्। पैनीको भित्रपट्टि सानो माटोको खाली भाँडो राखिन्छ। यसलाई वातत्मा भनिन्छ। पैनीको मुखमा तामा, पित्तल, अथवा सिलभर आदि धातुजन्य वस्तुको भाँडा जसको नाम बाता हो, राखिन्छ। यसको आकार गोलो–गोलो हुँदै पिँधतिर गहिरिएर साँघुरिँदै गई पिँधको केन्द्रमा सानो निप्पल आकारमा उठेको भाग हुन्छ।

    बाता र पैनीको मुखवरिपरि नरम कपडा भिजाई पटुकी बेरेर छेक्नुपर्छ, ताकि तलबाट आउने बाफ बाहिर निस्किन नसकोस्। बाताभरि पानी राखिन्छ। तलबाट आगो फुकिन्छ। आगो बालेपछि भाँडामा राखेको जाँड उम्लिन्छ। तापको कारणले उक्त जाँडमा रासायनिक प्रतिक्रिया सुरु हुन्छ। त्यसपछि रासायनिक प्रतिक्रियापश्चात् त्यो जाँड बाफमा रुपान्तरण हुन्छ। बाफ माथि जान्छ। अनि बाताको पिँधमा ठोकिन्छ। बातामाथि चिसो पानी राखिने हुनाले उक्त बाफ फेरि पानीमा रुपान्तरण हुन्छ र तल खस्छ। अनि त्यो पानीमा रुपान्तरण भएको बाफको तप्का पैनीभित्र रहेको सानो माटोको भाँडा वातात्मामा खस्छ। उक्त पानी नै पूर्ण अल्कोहल हो। यसरी एक ठोस वस्तु जाँड, रासायनिक प्रतिक्रियाद्वारा पूर्ण अल्कोहलमा रुपान्तरण हुन्छ। यसलाई सामाजिक बोलीचालीको भाषामा रक्सी भन्ने गरिन्छ भने यसको मुन्धुमी नाम खाबात, आराखा हो। यसरी रक्सी पार्ने एउटा चक्र पूरा हुन्छ।

    “कार्लमाक्सका अनुसार हरेक विषयवस्तु तथा त्यसको उत्पादन शक्तिलाई हेर्ने हो भने त्यसलाई ऐतिहासिक भौतिकवादी ज्ञान सिद्धान्तका आधारमा हेर्नुपर्छ, बुझ्नुपर्छ र पढ्नुपर्छ भनेझैं मुन्धुमले हासिल गरेका ज्ञानका ती आयामहरूलाई पनि त्यसरी नै परख गर्नुपर्छ।”

    रक्सीको यो प्रक्रिया नै सम्भवतः रासायनिक विज्ञानको पहिलो सफल अनि महत्त्वपूर्ण परिणामसहितको परीक्षण हो। हुनसक्छ, मानिसको आधुनिक विज्ञानमा पहिलो फड्को पनि यहीँबाट सुरु भएको हो। यहीँबाट विभिन्न जडीबुटीलाई प्रशोधन गरी आधुनिक औषधि विज्ञानको सुरुवात भएको हो। तर, मुन्धुमी दृष्टिकोणअनुसार रक्सीको विकास यत्तिका लागि मात्र हो भन्न मिल्दैन। यसलाई अर्थशास्त्रीय प्रणालीसँग पनि जोडेर हेर्नुपर्छ। विश्वमा अहिले सबैभन्दा धेरै व्यापार, उपयोग र उपभोग पनि रक्सीकै हुने गरेको छ। विश्व अर्थतन्त्रमा रक्सीले एउटा महत्त्वपूर्ण हिस्सा नै ओगटेको छ।

    यसरी मुन्धुमी विचार तथा दार्शनिक दृष्टिकोणलाई परिभाषित गर्नु पर्‍यो भने भौतिकवादी विज्ञानसँग नजोडी हुँदै हुँदैन। यसलाई भौतिक विज्ञानसँग जोडिएन भने यो अधुरो र अपूरो हुन्छ किनकि मुन्धुम आफैंमा भौतिकवादी दर्शन हो। स्पष्ट देख्न सकिन्छ कि पृथ्वीमा विभिन्न तत्त्व छन् जसको चक्रीय सम्बन्ध रक्सी पार्ने प्रक्रियासँग हुबहु मिल्न आउँछ। जस्तो कि पानीसँग घोलिएको जाँड भाँडामा राख्नु। त्यो भाँडामाथि पैनी राख्नु। फेरि पैनीमाथि बाता राख्नु। त्यसमा चिसो पानी राख्नु। भाँडाको पिँधमा आगो बाल्नु। यी सब पृथ्वीका तिनै अनेक तत्त्वहरूका चक्रीय प्रक्रियाका अनुकृति हुन्। बाता यहाँ वायुमण्डलीय चापभन्दा माथिको ओजन तह हो; जहाँ तलबाट बालिएको आगोको तापका कारण रासायनिक प्रतिक्रियाद्वारा बाफ बन्छ। बाफ उडेर माथि पुग्छ र वायुमण्डलीय चापभन्दा माथि पुगेपछि ओजन तह चिसो हुने कारणले त्यहाँ उक्त बाफ ठोकिएपछि पानीमा रुपान्तरण हुन्छ। मुन्धुमले रक्सी बनाउने प्रक्रियामा यही प्राकृतिक चक्रलाई प्रयोगद्वारा सिद्ध गरेको छ। मुन्दुमले यो प्रक्रियाद्वारा मुख्य तीनवटा ऐतिहासिक तथा भौतिकवादी धारणा अगाडि सारेको छ :

    (क) पृथ्वीमा पानी पर्ने चक्रबारे : प्राचीन सभ्यता र संस्कृतिकै उपज हो, वर्तमान मानव समाज। प्राचीन भौतिकवादी दर्शनको जगमै आधुनिक युग उभिएको छ। त्यसैले प्राचीन युग र आधुनिक युगको वैचारिक अन्तरसम्बन्ध एउटै सिक्काका दुई पाटाजस्तै अन्तरसम्बन्धित छन्। प्राचीन सभ्यता र दर्शनले हरेक विषय र वस्तुमाथि चिन्तन गर्‍यो अनि आफ्नो ठोस धारणा बनायो। आधुनिक युगले त्यसलाई परीक्षण र वैज्ञानिक प्रयोगद्वारा सिद्ध गर्‍यो। जुन सिलसिला मुन्धुममा पनि प्रस्टसँग अन्तरनिहित छ। प्राचीन दर्शनमध्येको एक भौतिकवादी दर्शन मुन्धुम पनि हो। यसको ज्ञान सिद्धान्त र आधिकारिक धारणाहरूलाई विज्ञानले सिद्ध गरिदियो कि पृथ्वी विभिन्न तत्त्वले बनेको छ। यसरी मुन्दुमको ज्ञान सिद्धान्तअनुसार पानी पर्ने चक्रलाई आधुनिक विज्ञानले सिद्ध गरेर पुनस्र्थापित मात्र गरिदिएन बल्की मुन्दुमको प्राचीन भौतिकवादी दर्शन र परीक्षणलाई सत्य साबित गर्दै पुनः नवीकरणसमेत गरिदिएको छ।

    (ख) पृथ्वीका तत्त्वहरूको चरित्रबारे : पृथ्वीमा रहेका तत्त्वहरू नास हुँदैनन्। बरु ती रासायनिक प्रतिक्रियाद्वारा एकअर्कामा रुपान्तरण हुन्छन्। जस्तै जाँडदेखि रक्सी, अल्कोहलसम्मको एउटा चक्रलाई हेर्न सकिन्छ। अन्न पकाउँदाको स्वाद भातजस्तो हुन्छ। मर्चा हालेर केही दिनको अन्तरमा गुलियो भई स्वाद र गुणमा रुपान्तरण हुन्छ। निरन्तर रासायनिक प्रतिक्रियापछि नै त्यो अल्कोहलमा विकास हुन्छ। रक्सी पार्ने सवालमा भाँडामा घोलेर राखिने जाँड र मुनिबाट बालिने आगोबीचको रासायनिक तत्त्वलाई निषेध गरेर बाफ बन्छ र बाफलाई निषेध गरेर ओजन तह अथवा बाताको चिसो पिँधमा ठक्कर खाएपछि उक्त बाफलाई निषेध गरेर पानीमा रुपान्तरण हुन्छ। यसलाई पूर्ण अल्कोहल तथा मुन्धुमी खाबात नामको तत्त्वमा परिणत हुन्छ। त्यसैलाई रक्सी भनिन्छ।

    आगो र पानी एकअर्कामा विपरीत छन्। ती विपरीत तत्त्वहरूको एकता र संघर्षका कारण तीव्र रासायनिक प्रतिक्रिया हुन्छ। भाँडाभित्रको रासायनिक तत्त्वहरूको संघर्षका कारण आगो र पानीको साझा अस्तित्व बाफ बन्छ र उक्त बाफ फेरि निरन्तर विपरीतहरूको एकता र संघर्षकै कारण पानी अथवा अल्कोहलमा रुपान्तरण हुन्छ। महान् दार्शनिक कार्लमाक्सका अनुसार हरेक विषयवस्तु तथा त्यसको उत्पादन शक्तिलाई हेर्ने हो भने त्यसलाई ऐतिहासिक भौतिकवादी ज्ञान सिद्धान्तका आधारमा हेर्नुपर्छ, बुझ्नुपर्छ, र पढ्नुपर्छ भनेझैं मुन्धुमले हासिल गरेका ज्ञानका ती आयामहरूलाई पनि त्यसरी नै परख गर्नुपर्छ।

    (ग) पृथ्वी र सम्पूर्ण ब्रह्माण्डको संरचना र यिनको अध्ययन पद्धतिबारे : रक्सी पार्ने प्रक्रिया मुन्दुमको दृष्टिमा केवल रक्सीको सामान्य संरचनासँग मात्र सम्बन्धित छैन। यो पृथ्वीमा रहेका हरेक तत्त्वको चक्रीय चरित्र, आनीबानी र त्यसको गुणका बारेमा मानवको उच्चतम चेतनाले सिकेको ज्ञान पद्धतिसँग पनि सम्बन्धित छ। मुन्दुम ब्रह्माण्डमा के के कुरामा कसरी अध्ययन गर्न सकिन्छ भन्ने ज्ञानको अभ्यास मात्र होइन, अहिलेसम्म मानव चेतनाले ब्रह्माण्डका बारेमा हासिल गरेका जे जे कुराहरू छन्, ती सबैको संरक्षण गरेर राखिएको एक महत्त्वपूर्ण दस्तावेज पनि हो। यिनै कुराहरूको ज्ञानलाई रक्सी पार्ने प्रक्रियाको माध्यमद्वारा मुन्धुमले संरक्षण गरेर राखेको छ। मुन्दुमले पृथ्वीका हरेक तत्त्वको अध्ययन र अध्यापन कार्य प्राकृतिक नियमभित्र रहेर गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ। बरु यसको ठीक उल्टो प्रकृतिलाई माया गरेर, प्रकृतिलाई सम्मान गरेर मात्र आममानव समुदायको भलो हुन्छ भन्ने कुरा मुन्धुमले स्पष्ट ढंगले भनेको छ।

    निष्कर्षमा भन्न सकिन्छ:  “मुन्दुम एउटा आदिम भौतिकवादको अनुपम दर्शनशास्त्र हो। यसद्वारा प्रतिपादित र प्रचलित रसायन विज्ञानको अभ्यास हेर्ने हो भने त्यसले हामीलाई हजारौं वर्ष अगाडी पुर्‍याउँछ। रक्सी पार्ने शिल्प र प्रक्रिया त्यही विज्ञानको पहिलो सफल परीक्षण हो।” आजको अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो।

    आश कुमार राई 
    हाल: काठमाडौ, नेपाल

    प्रतिकृया दिनुहोस्

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...