काठमाडौँ – यसैको फन्कोमा र यसैको रन्कोमा केही लेख्छु भन्ने सोचर टाउकोमा शीर्षक लेखिहालें तर सुरुमा नै मलाई कताकता यसको सेरोफरोभन्दा बाहिर नै कलम खेलाउन मन लाग्यो। म प्रायः केही लेख्नुपर्दा विषय र परिधि चयन गर्छु, सन्दर्भहरूको टिपोट गर्छु र सिलसिलाको तन्तुहरूलाई मनभित्र खेलाउँछु। यति भए मेरो मानसिक कर्मकाण्ड सकिन्छ।
टाउकोमा शीर्षक लेख्छु र लेख्न बस्छु। यसपटक यो शीर्षकमा यस्तै गर्न खोजेको हो तर ‘श्रीगणेश’मा नै मन विषयान्तरको दिशातर्फ दगुर्यो। म कहिलेकाहीँ विचारहरूतिर ध्यानस्थ हुन्छु। विचार उद्भवका तन्तुहरू खेलाउँछु। मैले विश्वका केही विचारहरूलाई पढें। प्लेटो, लुइल्वाँ र प्रुधोदेखि हेगेल तथा कार्ल मार्क्ससम्मका विचार र दर्शनलाई बुझ्ने कोशिश गरें तर खासमा केही पनि बुझिनँ।
यी सबैका चिन्तना मानिसहरूको दुःखहरणमा नै केन्द्रित थियो। कतिपय आम नागरिकलाई राजनीतिक स्वतन्त्रताबाट विमुख गराएर सुखको सपना देख्थे भने कतिपयले राजनीतिक स्वतन्त्रतालाई विचारको कठघरामा बन्धक बनाउन चाहन्थे। जसले जस्तो विचारको प्रतिपादन गरे पनि आखिर सबैजसो विचारहरू एकप्रकारले विस्थापित नै भए। दार्शनिक इतिहासको पानामा मात्र स्थापित भए, समाज र मानिसहरूको मनबाट विस्थापित भए।
मैले काठमाडौंका गल्लीहरूमा चालीसको दशकका विख्यात पञ्चायतविरोधी पत्रकारहरूको भूमिगत नालीको दुलो कहाँ पुगेर टुङ्गियो भन्ने पनि थाहा पाएँ। कोइलीको आकृतिमा कागहरूको बथान पनि देखेँ।
कार्ल मार्क्सको विचारले भने विश्वका दुईतिहाई मानिसलाई छोयो। तर अनुयायीहरूको आचारले गर्दा यसलाई पनि रक्षात्मक चरणतिर धकेल्यो। नेपाली माटोमा उम्रिएका मार्क्सवादका प्रयोगधर्मी अनुयायीहरूले त झन् एउटी कनकवदनी सुन्दरीले पहिरने जामाजस्तै बनाए।
यहाँनेर फेरि आफ्नै सातो उड्ने प्रसंग आयो। महिलालाई सौन्दर्यभोग्याको रूपमा उदाहरणयोग्य बनाएर यो लेखकले महिलामाथि अन्याय गर्यो भन्ने आरोप लाग्ला भन्ने डर छ। त्यसैले म प्रस्तुत उदाहरणलाई उल्ट्याउन चाहन्छु। एउटा बलिस्टाङ्ग सुडौल बाहु, सुन्दर चेहरा र धुङ्ग्रिएको कपाल भएका दैख्दैमा च्वाप्पै म्वाई खाउँजस्तो युवा अथवा तन्नेरीजस्तै बन्यो मार्क्सवाद।
बैंसभरि झुत्ती खेल्ने, बैंस निखारेर वृत्ति खेल्ने अवसरमा लम्पसार पर्यो विचार धार। बेलायतको चार्चिस्ट आन्दोलन र नेपालको मार्क्ससिस्ट विचारको ग्रहदशा एउटै समवेत पिण्डरेखामा सुत्यो। जनता र नेताबीचको सम्बन्ध मदिरा पिउन्जेलको मधुरता र विद्रोही चेतको एकताजस्तो हुन पुग्यो। जब कि भोलि बिहान उज्यालो हुँदा साँझको मित्रता क्षणभंगुर हुन पुग्छ।
म कहिलेकाहीँ विचार गर्छु, विचार कहाँबाट आउँछ र कुन आचारमा गएर थुप्रन्छ ? मन–मस्तिष्कबाट उम्रने विचारको घनत्व मानिसहरूको सरसंगतमा कस्तो आकार र प्रभावमा थुप्रन्छ भन्ने कुरा स्वयमांई थाहा भएन भने विचारको अर्थ के रह्यो र ?
नेपालको राजनीतिक फाँटमा मैले केही वैचारिक नेताहरूको संसर्गमा केही सिक्ने मौका पाएको छु। महामानव पदावलीले विभूषित विपी कोइरालादेखि मनमोहन, पुष्पलाल, निर्मल लामालगायत अन्य केहीलाई मैले नजिकबाट चिनें अर्थात् उनीहरूको विचारका तन्तुहरू सामान्यतया बुझेँ। प्रभावको अर्थमा भने पुष्पलाल जतिको सरल र वैचारिक कठोरता सायदै अरूमा देखेँ।
विपी कोइरालालाई भने मैले आफ्नो परिवेशको मौलोबाट उम्कन दिइनँ। लामो कालखण्डसम्म म उनको सानदार जीवनशैली र ओजनदार विचार प्रवाहको मूक अध्येतामात्र भएँ। जिल्लातिरका समवयी र कनिष्ट मार्क्ससिस्टहरूको अहिलेको उधुमले भने सास फेर्न कठिन बनाउँदै गएको छ। कतिपयको विधि–व्यवहार प्रुधोको जस्तो देखेँ भने कतिपयको विचार टलक्क टल्कने सेतो मयलपोसमा मसी छर्किएजस्तो छ्याकरे देखेँ।
राजनीतिका अतिरिक्त समाजसेवा, पत्रकारिता र साहित्यको बजारमा पनि विचारका अनेक बहस र तर्कहरू सुनेको छु। ‘कमाउ पत्रकारिता’ र ‘गुमाउ पत्रकारिता’ बीचको दशगजामा उभिएर हेर्दामात्र पत्रकारिताको असली अनुहार देखिएको रहेछ।
मैले राजधानी सहर काठमाडौंका गल्लीहरूमा चालीसको दशकका विख्यात पञ्चायत विरोधी पत्रकारहरूको भूमिगत नालीको दुलो कहाँ पुगेर टुङ्गियो भन्ने पनि थाहा पाएँ। कोइलीको आकृतिमा कागहरूको बथान पनि देखेँ। पाइन्टका दुई पकेटमा हात राखेर पिपलबोट पुग्ने र कहिले दाहिने हात मिलाउने, कहिले देब्रे हात मिलाउने र आँखाचाहिँ नारायणहिटीतिर झिम्क्याउनेहरूको लिलाको बयान गर्दा हजार जिब्रा भएको शेषनागको जस्तै लाग्छ।
अहिले पनि फुलेको कपाल र मदिराले झुलेको अनुहारमा पत्रकारिताको मादकता भयानकसँग छचल्किएको देखिँदैछ। यसमा मेरो अनुभवको सिङ्गो पहाड अभिमन्युको मृत्युजस्तै हो। महाभारतको चक्रव्यूह र अहिलेको मानिसबीचको ‘ग्रयाण्ड डिजाइन’ उस्तै–उस्तै हो। यही परिलक्षित र आयातीत डिजाइनमा नाचेको नेपाली राजनीतिको सोह्र–श्रृङ्गारले युक्त युवतीजस्तै, नेपाली पत्रकारिता !
म धुकचुक मान्दै पुकारिने एउटा कवि र लेखक पनि हुँ। तर मलाई आफूले नेपाली साहित्यमा महाभारत जितेजस्तै अहम् र दम्भ छ। मेरा केही अनुयायी र प्रसंशक छन्। उनीहरूको प्रसंशाको आत्मरतिमा उखरमाउलो ढंगले रतिकर्म र मदिरा धर्मतिर उन्मुख हुन्छु। घामले कोल्टो फेर्दै गएपछि मोबाइल फोन मेरो हातमा नाच्न थाल्छ। नम्बरहरू बुर्कुसी मार्छन्। म सबैभन्दा सोझो र बेबकुफ नम्बर थिच्छु र भट्टीतिर पस्छु।
विचारको आड लागेपछि नाथे आचारको के डर ? ‘बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत’ लेखनाथले हामीलाई र वर्तमानलाई बुझेरै लेखिदिएका हुन् यो कविता।
म : ‘तिमी भयानक शक्तिशाली कवि हौ !’
उसले मलाई बोकेर ट्याक्सीमा हाल्यो र पैसा तिर्यो। घर पुगेको याद भएन तर केही चड्कन भने याद आयो। कति चड्कन भयो त्योचाहिँ बिर्सिएँ। रातिको चड्कनले दैनिकी साध्य भएन। बिहान खोमारीको झोंकमा ‘हस्तप्रयास’मा थिएँ, साँझको महान कविको फोन आयो।
अर्को साँझ भनें– म तिमीले फोन गर्दा अत्यन्त बिजी थिएँ। गर्छु भन्दाभन्दै अरूहरूको सयौं फोन आएर हैरान पार्यो। अलिकति ठूलो मानिस हुनु पनि दिक्कलाग्दो हुन्छ कहिले त !’ उसलाई यसरी सफाइ दिएर हौस्याएँ । हाम्रो नित्यकर्म सुरु भयो र उसले आफ्नो निमुखो आशाले नित्यकर्म पूरा गर्यो र सकियो।
म एउटा वैचारिक कवि हुँ। म विश्व हल्लाउने विचारको आडमा छु। यही आडमा भएकोले मलाई कसैले हल्लाउन पनि सक्दैन। त्यत्ति एउटा साँझको कहिले त बिहान र दिउँसो पनि हल्लाइदिने तत्त्वसँग मलाई रत्तिभर डर छैन। विचारको आड लागेपछि नाथे आचारको के डर ? ‘बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत’ लेखनाथले हामीलाई र वर्तमानलाई बुझेरै लेखिदिएका हुन् यो कविता। यही कविताको पंक्तिको रमितामा म आफ्नो भविष्य देख्छु।
मेरो अटुट नियमित प्रक्रियामा पात्र र प्रवृत्तिहरू फेरिँदै जान्छन्। म कविमात्र होइन अन्य विधाहरूको पनि गहिरो पारखी हुँ। म सँग अनेक विधाका लाल बुझक्कड लेखकहरूको औत्सुकीय हिप्नोटिजम छ। पहुँच र प्रयोगमा मेरो कलाकारिताका हरिशचन्द्रलाई वशिभूत पार्ने मेनुकाको जस्तै छ। मेरा लेखनको औकात र तागत मलाईमात्र थाहा छ। भन्नलाई त म भनिदिन्छु– ‘परिवर्तनकामी जोडदार कलम नै परिवर्तनको सम्वाहक हो।’
तर मेरो कलमले केही लछारपाटो लगाएको छैन भन्ने रहस्यको चुरो मलाई मात्र थाहा छ। जसको कलमको तागतले आमूल परिवर्तनमा सघायो म उसैको आडमा अथवा पंक्तिमा जोडिएकोले नै मैले लेखेका नारा र तुकबन्दीहरू एउटै खान्दानीका साबित भए र म पनि धरानिया कवि ठहरिएँ।
आजकल त समय अति उग्र हुन थालेको छ। नयाँनयाँ चैतन्यधारीहरूको अविष्कार हुँदैछ। मलाई कहिलेकाहीँ भित्रभित्र डर लाग्छ– ‘कतै मलाई आफ्नै विचारले त रोक्ने होइन ? कतै आफ्नै हर्कतको हथौडाले त ठोक्ने होइन ? ममा यस्ता दुःस्वप्नहरू आउन थालेको छ। विचारलाई पोशाक बनाउनुको परिणति पोशाक उतारिदियो भने थाहा हुन्छ। मभित्र पोशाकले छोपिएका कति अस्थिपञ्जर कुरूप विचारहरू छन्।
एक साँझ म नियमित खेलखण्डबाट निवृत्त भएर घर पुगेँ। उही हविगत र उही बेहोसीमा कुनबेला निदाएँ, थाहा पाइएन।
–‘नखोल, मेरो पोशाक नखोल ! छोप्नदेऊ मेरो अस्थिपञ्जर सत्य शरीर।’ बिहानपख म यसो भन्दै बर्बराएछु।
–‘अझै छोड्या छैन, कुकुरको झोलले ?’ पत्नीले यसो भन्दै ओढिरहेको सिरक फालिदिइन्।
–‘जसको सिता खाई, उसैको गीत गाई : ‘प्लिज नफालिदेऊ मेरो अनुहार छोप्ने कालो पर्दा’ मैले यति भनेर फेरि सिरकले मुख छोपें।
विचरा निमुखो एउटा कविसँगको सुमधुर मदिरापानको मित्रता भोलिपल्टको खोमारीसँगै क्षणभङ्गुर टुङ्गिन्छ। विचारको भञ्ज्याङहरूमा पनि म यस्तै रीति र थिति देख्छु।