मन्सुली धानको बाला
लचक्क झुले सँगै
सुन्तला दानाले नुगाएर
भुँई छुन लाग्दा,
दशै आएको छ।
तर मलाई,
मन्सुली धानको बालासँग
गुनासो गर्न मन छ,
सुन्तलाले भुँई छुन लाग्दा
गुनासो गर्न मन छ।
यो धानको बाला अहिले नै
नझुलेको भए
दशै अहिल्यै आउने थिएन,
सुन्तलाले भुई छुन नलागेको भए
मेरो रगतको डल्लोहरुको
याद आउने थिएन।
मलाई मन छैन
कालो बोकालाई
देवीको नाउमा चडाई
प्रसादको नाउमा खान।
मलाई मन छैन,
सेता फुस्रा चामललाई
रातो अविरले रङ्ग्याउन,
मलाई मन छैन,
राटो माटो र पहेलो केशरीले
घर रङ्ग्याउन,
कोषौ पर जिउँदो मुर्दाहरुको
शहरमा रहेकी मेरी छोरीको
केशराशी र मुहारलाई रङ्ग्याउन मन छ।
मलाई घरका
माकुराको जालालाई च्याट्न मन छैन,
दूर देशमा रहेको
मेरो छोराहरूको फाटी रहेको मनलाई
टाल्न मन छ
फेरी कहिल्यै नफाट्ने गरी।
मलाई मन छैन,
घर वरिपरिका सिस्नु र
तितेपाटीको काला झाडी फाड्न
मलाई हरेक दशैमा आउने यो
कालो दिनलाई फाल्न मन छ।
पारी देउराली डाँडाबाट
दशै आयो है भन्दै हर्न बजाउदै
ढलपल ढलपल गर्दै छतभरि दशै बोकेर
आएको जिपले
केवल मेरो तिर्सना ल्याएको छ,
मेरो खुशी ल्याएको छैन।
यो दशैले केवल
पुराना विगत ल्याएको छ
मेरा नानाबालाको कोमल हात,
खिस्स परेको ओठ ल्याएको छैन।
यो दशैमा दशै आएको छैन
साच्चै दशै दशै जस्तो
लाएको छैन।।
~ सृष्टि मल्ल
चापाकोट नगरपालिका-५ सेखाम, स्याङ्जा
हाल : भक्तपुर, नेपाल।