हामी सामाजिक प्राणी हौं। समाजमा बसिसकेपछि आफ्नो देश र समाज सुधार वा समाजमा आइपर्ने अनेकौं कठिनाइ चिर्दै अगाडी बढ्न होस, एउटा सचेत नागरिक त्यसमा पनि विशेषगरी युवावर्गको ठुलो भूमिका हुनुपर्छ भन्ने मूलभूत नारालाई पनि साथमा लिएर अगाडि बढेका विकास प्रेमी युवा ईश्वर गुभाजु।
हाम्रो गाउँठाउँका जनप्रतिनिधि, नेताकार्यकर्तालाई हरेक विकास निर्माण कार्यमा सचेत गराई सक्दो सहयोग गर्ने अनि आफ्नो स्थानबाट छुट्टै किसिमले कहाँ, के, कसरी सुधारमुलक कार्य गर्न सकिन्छ भनेर समस्याको समाधान गर्ने अनि त्यसलाई सकेसम्म पूरा गर्ने गरी योजना बनाएर अगाडी बढ्न सामाजिक सन्जालको माध्यमबाट युवाहरु जुट्न सके पक्कै देश र समाजमा फरक किसिमका सामाजिक कार्यक्रम गर्न सकिदो रहेछ भन्ने उदाहरणका रुपमा युवाहरु सम्झेका छन्। युवाहरुको बढ्दो सामाजिक चेतना गाऊँ, समाज र देश प्रतिको भूमिका निभाएका छन्।
आजको युगमा युवा जनशक्ति नै देश विकास र निर्माणका मुख्य आधार हुन। त्यसैले विश्वका सवै जसो देश राष्टिय नीतिगत तर्जुमा गर्दा यही समूहलाई केन्द्रविन्दु बनाउँदछन्। युवालाई व्याख्या र परिभाषा प्रत्येक राज्यले आ–आफ्नै सन्दर्भ र वास्तविकताको आधारमा गरेका हुन्छन्।
युवा भन्नाले हामी १६–४० वर्ष उमेर समूहका मानिसलाई मान्न सक्छौं, तथापि युवा उमेरले होइन, उत्साहले जन्मन्छ। “समय सीमाले होइन, संयोजनकारी भूमिकाले चिनिन्छ। जे होस्, युवा उन्नतिका नायक हुन्, उत्साहका परिचायक हुन्, देश निर्माणका प्रमुख स्रोत हुन्। युवा देशका अमुल्य नीधि हुन्, परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन्।
हाम्रो देश नेपालमा युवाहरू अशिक्षित, राजनीतिकर्मी, धनी तथा गरिबका आधारमा समेत विविधता पाइन्छ। यसैगरी युवाको यस जनसंख्यामा क्षेत्रीयता, जातीयता, लैंगिकता, भौगोलिकता र आर्थिक पक्षहरूमा समेत विविधता पाइन्छ।
संसारमा जति पनि मानिस यस धर्तीमा जन्म लिन्छन्, ती व्यक्तिहरू आफ्नो सुखद बाल्यकाल र किशोरावस्था पार गरेर युवावस्थामा पुग्छन्। विगतको वाल्यावस्था, अनि भविष्यको बृद्वावस्थालाई सोच्दै योजना र तयारीका साथ अगाडी बढ्ने अवस्था वर्तमान हो। त्यसैले वर्तमानलाई प्रतिनिधित्व गर्ने युवा वर्गले आफू भन्दा अग्रजको अनुभवलाई ग्रहण गर्दै भावी पुस्ताको लागि योजना तयार गर्ने, अनि वर्तमानमा चौतर्फी विकास गर्नेतर्फ लाग्नुपर्दछ। भविष्यको सम्भावना बोकेको, केही गर्ने जोश, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकोले यिनीहरूलाई वर्तमानका साझेदार, भविष्यका कर्णधार, देशको खम्बा, आधार स्तम्भ जस्ता उपनामले चिनिन्छन्।
हाम्रो देश नेपाल कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलता लाई मान्न सकिन्छ तर विडम्बना यदि यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाहरूको क्षमताको सदुपयोग हुन सकेन भने हाम्रो देशले युवाको लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ।
विकासले सर्वाधिक प्राथमिकता पाए पनि अविकासको दुश्चक्रबाट मुलुक बाहिर निस्कन सकेको छैन। अग्रगमन हाम्रो मुख्य रोजाइमा परे पनि आवश्यक तालमेल मिलाएर हिंडन नसकिएको कारण लगभग यथा स्थितिमै बस्नु परेको छ। विज्ञान र प्रविधिको चामत्कारिक विकासले भौगोलिक विकटता र सामाजिक, आर्थिक अवसरको न्यून उपलब्धतामा बाँचेका गरिब र निमुखा जनताको जीवनशैलीमा कुनै परिवर्तन ल्याउन सकेको छैन। औसत जनताको जीवनशैली आज पनि कष्टकर र पाषणकालिन अवस्थाको रहेको छ।
विभेदकारी राजनीतिक, सामाजिक तथा आर्थिक व्यवस्था सहितकै नयाँ नयाँ व्यवस्थाहरुको व्यवस्थापन गर्नमा रहेको कमजोरीले गर्दा निम्त्याएको द्वन्दबाट नेपाल आजसम्म पूर्ण रुपले मुक्त हुन सकेको छैन।
भ्रष्टाचार मुक्त समाज हाम्रो आदर्श वाक्य बन्ने गरे पनि भ्रष्टाचारको विषवृक्ष सुक्नुको सट्टा मौलाउँदो छ। शक्ति र सत्तामा हुनेखाने र जहाँ जसो पनि गर्न सक्ने वर्ग कै हलीमुहाली र साधन स्रोतहरुमा दोहन रहेको छ। एकातिर राज्यले युवा वर्गको हितमा निति निर्माण र कार्यक्रम तयार गरेर युवा शक्ति जोश र जाँगरलाई देश निमार्णको महत्वपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हाँसिल गर्न सकिरहेको छैन भने अर्का तर्फ वढ्दो युवा शक्तिको पलायनलाई रोक्नुको सट्टा वैदेशिक रोजगारीका लागी पररष्ट्र सम्झौता गर्दै हिड्नु पर्ने नियतीको धारतलमा हाम्रो हाम्रो देश नेपाल उभिइरहेको छ।
“आज राज्यको नीति निर्माण गर्ने जवाफदेही राजनैतिक इच्छा शक्तिको अभावमा युवा वर्ग कुहिरोको काग जस्ता भएका छन् ।”
देश विकासका कार्यमा प्रत्येक युवा-युवतीले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान पुर्याइरहेका हुन्छन्।
जीवनचक्रमा हरेक व्यक्ति एकपल्ट युवावस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनीत महायज्ञमा सरिक भएकै हुन्छ। इन्जीनियर, वकिल, शिक्षक, प्राध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवावस्थामा नै हुन्छ।
ती सेवामा प्रवेश गर्नेले आ-आफ्नो युवाजोस लगाएकै हुन्छन्, बाटोघाटो, कुलो, नहरनिर्माण गरी एउटा इन्जीनियरले मुलुकको भौतिक विकासमा नयाँ आयाम दिएको हुन्छ भने वकिलले न्याय सम्पादनका क्षेत्रमा, शिक्षक-प्राध्यापकले अध्यापनका क्षेत्रमा योगदान पुर्याउँछन्। लेखकले कलमको र कलाकारले कूचीको प्रयोग गर्दै आफ्ना सुन्दर सिर्जनालाई सभ्यता एवं संस्कृतिलाई समुन्नत तुल्याउन अग्रणी भूमिका निर्वाह गरेका हुन्छन्।
सैनिकले शस्त्रास्त्रले सुसज्जित भएर राष्ट्रिय अखण्डताको पहरेदारको भूमिका निर्वाह गरेका हुन्छन् भने प्रहरीले जनताको जीउधन र सामाजिक शान्ति-सुरक्षाको क्षेत्रमा आफ्नो योगदान दिएकै हुन्छन्, यसरी देश विकासका कार्यमामा हरेक युवा-युवतीले आ-आफ्नो क्षेत्रबाट विभिन्न पेसामा रहेर अभूतपूर्व भूमिका निर्वाह गरिरहेका हुन्छन्।
मुलुकको विकासमा गहनतम भूमिका निर्वाह गरिरहेका हुन्छन्। सक्रिय गराउन राज्यले पनि विशेष पहल गर्नुपर्दछ। राज्यमा युवाहरूको मनोबल बढाउन खालको वातावरण तयार पारिनु पर्दछ। उचित वातावरणका अभावमा आफ्नो देशमा उचित शिक्षा, रोजगार, कम र माम नपाउँदा कतिपय युवावर्ग बरालिन्छ र युवावर्ग बरालिँदै देश विकासको गीत ओरालो लाग्दछ। कलिला ओठमा जँगारेखी बस्न नपाउँदा रोजगारीका नाममा, कम र मामका लागि विदेश पस्न युवावर्ग जहाँ बाध्य हुन्छ त्यस देशको अनुहारमा अधोगतिको चाया देखिन्छ र अवनतीको छाया देखिन्छ।
परिवार र समाजको समुचित माया र स्नेह नपाएका वा आवश्कताभन्दा बढी माया र स्नेहले पुल्पुलिएका बालकहरू जब युवा बन्छन् तीमध्ये पनि केही विकृति-विसंगतितर्फ लागेका हुन्छन्। त्यस्ता कुलत र द्रव्यसनमा लाग्ने युवावर्ग पनि परिवार, समाज र राष्ट्रकै टाउको दुखाइ बन्न पुग्दछ। त्यस्ता वर्गहरूका लागि पनि योग्यता, क्षेमता, रुचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देश-विकासको होस्टेमा हैसे गर्न पुग्दछन्; सिर्जनाका नव-नव दयारहरू खोल्न सक्छन्; मूलकको अस्तित्वमा संकट आउँदा धक फुकाएर बोल्न सक्छन् देशका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् ।
अनि, विपन्नता, गरिबी र पछौटैपनका विरुद्ध सजिलैसँग धावा बोल्न सक्छन्। तसर्थ आफ्नो देश युवास्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले रोजगारका बाध बढ्ने पर्छ, उनीहरूको उत्साहको धर्म उच्च आत्मबल र मनोबल बढाउन स्थानिय सरकार प्रदेश सरकार केन्दीय सरकार ले विशेष ध्यान पुर्याउनु पर्छ।
“बिहानीले दिनको सङ्केत गर्छ’ भनेझै वर्तमानले भविष्यलाई डोर्याउँछ। जसरी आजको सानो विरुवा भोलि ठूलो रुख बन्छ र छहारी दिन्छ, त्यसरी नै आजका युवा भोलि राष्ट्रका नेता, प्राध्यापक, प्राविधिक वा प्रशासक बन्छन्। आजका युवा भोलि देश चलाउने चालक बन्छन्” त्यसैले पनि भविष्यको जहाजरुपी देश चलाउने क्याप्टेनरुपी युवा मन, वचन र कर्मले नै इमान्दार, परिपक्व र परिष्कृत हुनुपर्छ। र त्यस्का लागि आजैदेखि त्यसप्रकारको संस्कृति र संस्कार युवालाई दिइनुपर्छ।
मुलुकको यस प्रकारको परिदृश्यले हरेक देशप्रेमी युवा नेपालीलाई चिन्तित र दुःखी बनाउने अवस्था रहेकोछ। हामीले जे जस्तो अवस्थाको सामना गर्नु परे पनि यसलाई छिट्टै प्रयत्न पूर्वक समाधान गर्नु पर्दछ।
उपर्युक्त परिदृश्यलाई मनन् गरी देश विकासको गतिलाई तिव्रता दिनु जरुरी छ। सही अर्थमा देश विकासको अभियानलई अघि बढाउने हो भने अन्य कुराका अतिरिक्त हामीसँग रहेका युवाशक्तिको समुचित उपयोग गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ। युवा वर्गको समुचित परिचालन एवं सक्रिय सहभागिता बिना विकास प्रतिको हाम्रो तृष्णा मृग तृष्णा बन्नेछ। मुलुकमा हुने ठूलो सानो जुनसुकै परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा युवा शक्तिको योगदान रहेको हुन्छ। मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय विकृति र विसंगति निमिट्यान्न पार्न युवाशक्तिको ठूलो आवश्यकता रहेको छ।
विकास निर्माणका विभिन्न साधनहरूमध्ये मानव संसाधन एक मात्र जीवन्त साधन हो। मानव संसाधन अन्तर्गत बाल, बृद्ध र युवा सबै वर्गका मानिसहरू पर्दछन्। अन्य वर्गको तुलनामा युवा वर्ग शक्ति र सामथ्र्यको दृष्टिले देश विकासमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुन्छ।
ईश्वर गुभाजु, सिन्धपाल्चोक