ए साइँला !
खै कति टनको थियो
जिजूबाजेले पिठ्युमा बोकेको भारी ?
र आज यसरी,
बङरङ्ङ भुइँमा बजारियो
पनातिको जुइनेटा हल्लिएको ढाडबाट !
म त जान्दिन !
किन फुल्छन् होलान् – यी फूलहरू
कहाँ बगेर जाँदा हुन् – यी नदीहरू
कसले गाएका हुन् – यी दुखियाका गीतहरू
र कसरी चल्छ होला – यो धर्तीमा लुटको गणित ?
अहँ ! मलाई थाहै छैन
शासकहरूले बोल्ने जासुसी भाषाको अर्थ !
म त भरिया हुँ
र भारी नै हो – मेरो जीवनको कथा पनि !
वर्षौवर्ष अगि,
चिप्लेटी डाँडाको भिरालोमा
यही भारीले निलेको हो – बाको तन्नेरी ज्यान !
बा’कै नाम्लो थाप्लामा राखेर
यतिका वर्षसम्म,
म पनि हिँडिरहेछु – चिप्लेटी डाँडाको भीर !
हउ साइँला !
यो भारीको ओजन
मेरा लागि त दुई छाक दालभात बराबर न हो !
मलाई देखेर
जुँगामा ताउ लाउने
यो घाम उस्ताको उस्तै छ !
मेरो ढाकरमा बसेर
जून–ताराहरूको गट्टी खेल्ने
यो पटवारी आकाश पनि उस्तै छ !
हेर त साइँला !
मेरै पसिनाको रङ ओढेर
सुतिरहेको यो कामचोर समुद्र पनि त उस्तै छ !
समयको उमेर
नहुँदोरहेछ, रामसाइँला !
थाहै नपाई,
यो जिन्दगीको अक्करबाट
म आज ७० नाम्लो तल झरिसकेछु !
खै कहिलेदेखि,
मेरा अनिदा सपनाहरू
यो थुन्सेभित्र नजरबन्द भए
मैले लख काट्न सकिनँ, साइँला ?
ढाकरले उघाएका खुशीहरू
किन मेरा ओठहरूले मुस्कुराउँदैनन् ?
खर्पनले तौलिएको अर्थतन्त्र
किन मेरो खल्तीबाट यसरी चुहिरहन्छ ?
मेरै सिर्जना बोकेर
उदाएको त्यो आधा इन्द्रेणीमा
किन होला मेरो श्रमको रङ देखिँदैन ?
भन न ए साइँला !
मेरै थुन्सेले ओसारेको यो पृथ्वी
किन मेरो भागमा एक चपरी पनि पर्दैन ?
कहाँ गए
मेरा जीवनका मूल्यहरू ?
आज अकस्मात्
मलाई शङ्का लागेको छ !
माफ गर, साइँला !
मनका बाँधहरू भत्किएर
यो जिन्दगीमा झ्याप्प पर्दा खसेपछि
जिते यो सिङ्गो संसार
हारे यही एउटा निख्लो ज्यान
अब म अक्टोबर क्रान्ति हिँड्न चाहन्छु !
साँच्चै साइँला !
म भियतवाहक पहाड भएर
यो चिसो ओछ्यानबाट उठ्न चाहन्छु !
म वोलिभियाको जङ्गल भएर
आफ्नै अनिदा सपनाहरू उम्रन चाहन्छु !
म हवाना टापुको नदी भएर
अब अन्तिमचोटि
यो जिन्दगी आफैं ढुक्कले बग्न चाहन्छु !
उभ्याउनुस् मालिक !
ढुक्क भएर
कठघारामा यो अभियुक्तलाई
म साँच्चो–साँच्चो बयान दिन चाहन्छु !
ओ न्यायधीश महोदय !
हिर्काउनुस् मलाई नेटोका कोर्राहरूले
र झ्याप्प निभाइदिनुस्
यो विचारको रातो लालटिन !
राष्ट्रसंघको म्यानबाट
अब झिक्नुस् शैतानी तरबार
र स्वाट्ट रेटिदिनुस् – मेरो निःहत्था गला !
यो लालटिनको उज्यालो रहुञ्जेल
होहल्ला गरिरहन्छन्
यी गुरिल्लाजस्ता आवाजहरू
र ह्वाइटहाउस ढुक्कले निदाउन सक्दैन !
– प्रथा