(आमा…त्यो नौ महिना)२
थाहा छैन बितायौ कसरी
अनेक पीडा र छटपटी सहेर पनि
मलाइ यो संसारमा निम्त्यायौ कसरी
(आमा तिमी साँच्चै महान छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
म त एउटा सानो भ्रुण थिए
तिम्रै पेटमा खेलेर, उफ्रदै हुर्किए
एउटा सानो र सुन्दर संसार त
तिम्रै गर्भमा बनाए।।
आमा… त्यतिबेला त मैले
तिम्रो मुहार देख्न सकिन
कतिबेला रमाउथ्यौ, कतिबेला रुन्थ्यौ
रिङ्गाटिएर ढल्न खोज्दा पनि
तिम्रो हातलाई थेग्न सकिन।।
एकछिन हिड्दा पनि गल्यौ होला कति
कमजोरीको कारण लड्यौ होला कति
तर, आफ्नो त तिम्लाई अलिकति पिर थिएन
मलाइ पो केही भयो कि भन्ने डरले
सञ्चो तिम्रो शिर थिएन
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
मलाइ यो दुनियामा ल्याउने
दिनहरु पर्खदा खेरी
त्यो बेला तिम्रो पेटमा मेरो
लातहरु बर्सदा खेरी
खुशीको कत्रो डल्ला फुटाएर बस्यौ होला
त्यै बेलादेखी मेरो लागी
स्नेहको मुहानहरु जुटाएर बस्यौ होला।।
जब आए यो संसारमा रुदै रुदै
त्यो भन्दा बढी तिम्लाई दुखेको थ्यो सायद
तर, मेरो एक झल्को मै
तिम्रो पीडा लुकेको थ्यो सायद
(कस्तो अचम्मको, आमा तिमी)२
यस्तो दुखाइ सहने सहनशील भयौ कसरी
मलाइ यो दुनिया देखाउन र पाइला टेकाउन
त्यत्रो घाउ र कष्ट सह्यौ कसरी
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
ताते ताते गराउदा पनि
ताराबाजी सिकाउने तिमी
कुन असल कुन गलतको
पाठ चिनाउने तिमी
सधैँ सिकाइरह्यौ,
नबिराउनु पनि नडराउनु पनि
आज भन्दैछु आमा तिमीलाई
सथै यस्तै साथ दिइरहनु, मलाइ छोडेर
कतै नहराउनु तिमी।।
तिम्रो बाद्शाल्यता र न्यानो काखको
कहिल्यै नछुटिने तिम्रो प्यारो साथको
खै कुन शब्दले वर्णन गरौँ आमा..??
तर यत्ति चाहि पक्का भन्छु
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
मेरो एक छाक कटाउन
अँध्यारो कालो रात हटाउन
आमा तिमीले जे जति दु: ख गर्यौ
सक्दिन सबै यो छोटो कवितामा अटाउन
दिनभरी काम गरेर जति गले पनि
नगले जस्तै गरेर बस्थ्यौ
पैला खाना पनि मलाइ दिन्थ्यौ
आफ्नो पेट चाहि थोत्रो पटुकाले कस्थ्यौ।।
ढाडमा मलाइ बोकेर
हातमा किताबको झोला च्यापेर
मलाइ स्कुल लान्थ्यौ स्कुलमा म बस्न नमान्दा
कतै जान्न म भनेर ढाट्थ्यौ तर
म कक्षामा पस्न नपाउदै
त्यँहाबाट कतिबेला भाग्थ्यौ
हुन पनि मलाइ दिनभरी पर्खेर त
कँहा जीन्दगी चल्थ्यो र..
दिनभरी काम नगरी त
रातीको चुलो कँहा बल्थ्यो र…
ठेला फुटाउदै, पसिना पुछ्दै
साँझमा घर फर्कन्थ्यौ
दिनभरी स्कुलमा सिकेको
कुराहरु भन्न लगाउथ्यौ
हस्याङफस्याङ मलाइ खाजा दिन्थ्यौ
अनि आफू चाहि मेरै मुख
हेरेर अघाउथ्यौ।।
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
म कत्ति खेर ओछ्यान पसे
कत्ति खेर निदाए, मलाइ थाहा भएन
तर तिम्रो त आँखामा पक्का निद्रा आएन
म अलिकति बिरामी हुँदा होस्
वा मलाइ रुघाले छुदा होस्
रातभरी टुकी बालेर कुर्थ्यौ
भोलीपल्टो बिहानै उठेर
औषधीमुलो ल्याएर आउथ्यौ
अनि के के हो के के..
पिसेर, निचोर्दै मेरो टाउकोमा लाउथ्यौ
आमा.. तिमी त मेरो लागी मलम थियौ
जीन्दगीको पहिलो अक्षर लेखाउने कलम थियौ
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
मैले साइकलको जिद्दी गर्दा
तिम्ले तिम्रो कुर्कुचा फुटाको थियौ
मैले पढ्न् अक्षरहरु किन्न
फर्सी र लौकाको मुन्टा चुट्टाको थियौ
कति हो कति भाच्यौ, फाल्यौ
दु: खहरुको डण्डी बियो तर
त्यो सबै संघर्ष त केवल मेरो लागी थियो।।
बच्चा बेलामा दसैँ पनि साह्रै ठुलो आउथ्यो
छिमेकीको छोराले नँया नाना लाउथ्यो
अनि मलाइ भन्नु हुन्थ्यो
भरै लाउलास्, तैले पनि..!!
अनि बिहानै निस्कनुहुन्थ्यो खोलापारी
साँच्चै…..
बेलुकी त मासु र नँया नाना आउथ्यो झोलाभरी
त्यसको लगतै भोलीपल्टो
म पनि गाँउ र मेला जान्थे
तिम्ले ल्याइदेको बल्ने सर्ट र बज्ने जुत्ता देखाउथेँ
अनि म भन्दा बढी खुशी त तिमी बन्थ्यौ
अझ सधै यस्तै खुशी देख्न पाउ भन्थ्यौ
(आमा तिमी साँच्चै महान् छ्यौ)२
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
कुटाइ पनि खाइयो, स्यावास पनि पाइयो
आज यो ठाँउसम्म पनि तिम्ले गर्दा आइयो
अब त्यही तिम्रो दुखको ऋण तिर्नु छ आमा
तिम्ले सिकाए जस्तो आदर्श व्यक्ति भएर हिड्नु छ
कि पढेर बुझिन्छ, कि परेर बुझिन्छ
दुख के हो त्यही दुखसँग लडेर बुझिन्छ
आमा तिमी नभए म खुशी कँहा हुन्थे र
दुखमा पनि “आमा” भनेर कँहा रुन्थे र…
आमा तिमी साँच्चै महान् छ्यौ
यो स्वार्थी संसारमा तिमी मात्रै
विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।।
(त्यसैले तिम्लाई मेरो सलाम
तिम्लाई मेरो नमन।।।)२।
कवि: अञ्जिला थामी “अर्पना”
सूर्योदय नगरपालिका-१, इलाम