News Portal

हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक मान्यता !

हेमराज भट्टराई ‘शास्त्री’
६०५ पटक

२०७७ भदौ ५, शुक्रबार
काठमाडौँ – विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ। हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ।

अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ। राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन्।

लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन्। अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ।

सोही आधारमा तीज उत्सव मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा.देवमणि भट्टराई बताउँछन्।

उनका अनुसार आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक मान्यता रहेको छ।

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने चलन छ। चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन्।

दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो। भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको उनी बताउँछन्।

तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ। यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नुपर्छ।

व्रतालुले आफूमा रहेको नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय शिवपार्वती (उमामहेश्वर)को षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ।

सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन्।

यो अर्थमा तीज महिलामैत्री पर्वका रूपमा परिचित छ। पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ।

यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ। काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ।

तर, यस वर्ष कोरोना (कोभिड–१९) संक्रमण तीव्र रूपमा बढेकाले सरकारले बुधबार रातिदेखि निषेधाज्ञा लागु गरेको छ। संक्रमणको डरले सामूहिक रूपमा भेला भएर दर खान र तीजमा विगतमा जस्तो जमघट गरी मनाउन सरकारले नै रोक लगाएको छ।

आफ्ना परिवारका सदस्यसँगै घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन।

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...