News Portal

  • देश रोएको आवाज

    हिमाली संचार संवाददाता
    ७७२ पटक
    २०७७ भदौ २, मंगलवार

    तस्तरीका प्वाँखमा टेकेर
    जब उड्छन्
    विचारका सेटलाइटहरू
    सपनाको यो धमिलो गुम्बज–वरिपरि
    तब लाग्छ
    लुटिएका कलिला खुसीहरू
    टुसाउन थाल्छन्— मस्तिष्कको जमिनबाट !
    र सिरूको फूल बनेर ,
    फक्रिन थाल्छन्
    भरोसाका थुँगाहरू आमाको एक्लो मनभरि !

    गुन्यूले आँखा छोपेर
    उनैले पिइदिएकी थिइन्
    मलाई बगाउन खोज्ने तेजाबका नदीहरू !
    तस्बिर देखाएर
    उनैले सिकाइदिएकी हुन्
    मैले गुनगुनाइरहने देशभक्तिको यो गीत !
    बारुद निचोरेर
    उनैले लगाइदिएकी हुन्
    दाइने गालाको पुछारमा गाजलको टीका !
    र ममता भत्काएर
    उनैले सल्काइदिएकी हुन्
    यो मनको दलिन वरिपरि विद्रोहका दियालोहरू !

    साँच्चै,
    प्रिय कमान्डर !
    उनैले हालिदिएकी हुन्
    मेरो झोलामा देशको यो पुरानो नक्सा पनि !

    आमा !
    टाट्नामा सङ्गिनी गाउने
    त्यो ठाड्कानी बाख्री छ कि छैन ?
    मुङ्ग्रे कार्कीले चुँडेर झारेको
    बहिनीको शिरफूल
    सम्झनामा रुँदै आउँछ कि आउँदैन ?
    धुपौरोमा खुर्सानी डढाएर
    नजिकको छिमेकीले
    बोक्सीको बात लाको छ कि छैन ?
    र पाख्रीघाटमा उडेको खरानीले
    बाको याद बोकेर
    साँझको सिकुवामा पिरोल्छ कि पिरोल्दैन ?

    भन न आमा !
    पाइतालामा पल्टिएको खील
    बिस्कुन सुकाउँदा दुख्छ कि दुख्दैन ?
    वर्षौं–वर्षदेखि,
    आधामात्र सल्केको चुल्होले
    आजभोलि धुवाँउन जान्दछ कि जान्दैन ?

    हो आमा !
    गोलीले छेडेको छातीभन्दा
    धेरै पो दुख्दोरहेछ
    एउटा विभत्स सपनाजस्तो यो जिन्दगी !
    जब रित्तिन्छन्
    कमान्डरका चट्याङजस्तै कासनहरू
    तब मडारिँदै आउँछन्
    होरर फ्लिमका आतङ्कित दृश्यहरू !
    र बालसिरी ठोकेर जान्छन्
    तिमीले सुमसुम्याएको मुटुका भित्ताहरूमा !

    किन उदास छ
    सपना मुस्कुराउने यो फलाँटे पाखो ?
    कसरी हराए
    जीवनका पोथ्राहरूबाट गुराँसका फूलहरू ?
    सायद,
    बलिदानको त्यही रङ बोकेर
    सुस्तरी–सुस्तरी बग्दै छ— मिल्केखोलामा पानी !
    र खोलाको डिलमा उभिएर
    म सम्झँदै छु
    तिनै सहिदहरूको प्रिय नाम
    जो आफू निभेर पनि उज्यालो दिएर गए !

    म देख्दै छु आमा !
    ऊ तल खोलाको छालसँगै
    बग्दै छ— देश रोएको एउटा आवाज पनि !

    जब ब्युँझन्छन्
    निदाएका छापामार अक्षरहरू
    तब आगोका मूच्र्छना बोकेर
    हिँड्दारहेछन् सडकमा कविताका जुलुसहरू !
    र धर्तीको धनु हल्लिने गरी
    गाउँदारहेछन्— उन्मुक्त मान्छेको आदिम गीत !
    जब निस्कन्छन्
    मदिनाको गोठबाट विद्रोही अल्लाहहरू
    तब मृत्युको डोरीले बाँधेर
    नरोकिँदोरहेछ— समयको यो अजम्मरी गति !

    तिमी त भीरमुनि बसेर
    आँसुको मझेत्रो ओढिरहेछ्यौ !
    म त कान्लामा उभिएर
    युद्धको बारुदी धुन सुनिरहेछु !
    पीर नगर आमा !
    जुन दिन यो आकाशमा
    सपनाको रातो घाम उदाउनेछ
    म त्यही दिन तिम्रो देश लिएर घर फर्किनेछु !!

    ~ प्रथा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...