स्याङ्जा, ३ जेठ : तपाई हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर २५ घर रहेको पुष्पगाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयवासीले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् ।
डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गर्नुभएकी ३६ वर्षीया सन्सारी विकले भन्नुभयो, “एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर पानी लिन नागास्थान धारामा जानुपर्छ । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको छ ।”
बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको मुक्तबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यत्ति टाढाबाट ल्याएको पानी घरपरिवारले खाने कि गाईवस्तुलाई खुवाउने ?” पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।
किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निद्रासमेत पुर्याउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बिहान उठेर पानी बोक्ने कि घरको काम गर्ने निकै समस्या भएको छ ।” पानीकै कारण कहिलेकाहीँ त विद्यालय जानसमेत ढिला हुने गरेको सुनिताले बताउनुभयो।
गाउँका वृद्धदेखि बालबच्चासम्म बिहान–बेलुका पानी बोकेरै अधिकांश समय बिताउन बाध्य छन् । लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । गाउँमा पानीको समस्याले आफूहरु गाग्रीसँग सम्झौता गर्न बाध्य भएको र पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।
बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताउनुभयो। (रासस)