जीवन कुँवर
काठमाडौं, २५ बैशाख : बाढीले घरबारी बगाएपछि मकवानपुर (तत्कालीन मनहरि गाविस हाल मनहरि गाउँपालिका) की गोमा (परिवर्तित नाम)को परिवार विचल्लीमा पर्यो। उनको परिवारै आफन्तको शरणमा पुग्यो। गोमा त्यतिबेला १८ वर्षकी मात्रै थिइन्। उनले गाउँमै ५ कक्षा पास गरेकी थिइन्।
केही समयपछि मकवानपुर मनहरि गाउँपालिका–६ की फूलमाया थिङले गोमालाई विदेशमा निकै कमाइ हुने र परिवार चलाउन सजिलो हुने सुझाइन्। महिनैपिच्छे तलब पाइने आश्वासन देखाउँदै विदेश जान फकाइन्।
कमजोर आर्थिक अवस्थाबाट गुज्रेकी गोमाले फूलमायाको कुरा नाइँ भन्न सकिनन्। अनि उतिसारो नसोची विदेश जाने निर्णयमा पुगिन्। अनि उनै फूलमायाले दिएको पाँच हजार रुपैयाँ बोकेर उनीसँगै पासपोर्ट बनाउन हेटौंडा गइन्।
गोमालाई फूलमायाले भनेकी थिइन्, ‘नेपालबाट कुवेत प्लेन जाँदैन, भारतबाट मात्रै जानुपर्छ’, गोमालाई त्यसबारे केही थाहा थिएन। भन्छिन्, ‘हो जस्तै लागेर भारत गएँ।’ र बरालले गोमालाई कुवेत उडाए।
गोमाको दर्दनाक कथा !
गोमालाई कुवेत एयरपोर्टमा लिन मीना लामा नाम गरेकी एक जना महिला आएकी थिइन्। मीनाले उनलाई अफिसमा पुर्याएर राखिन्। केही समयपछि मालिकका छोराले गोमालाई लिएर गए। फूलमायाले भनेजस्तै उनले कुवेतमा काम पाइन्। काम थियो, खाना बनाउने, घर सफा गर्ने, बच्चा हेर्ने र वृद्धाको हेरचाह गर्ने।
त्यसबाहेक पनि उनले घर मालिक्नीलाई मालिस गरिदिनुपर्ने। यसै गरी गोमाको कुवेत जागिर एक महिना बित्यो। फूलमायाले भनेजस्तै काम पाएकी गोमाले तलब भने त्यसरी पाइनन्। गोमा भन्छिन्, ‘सुरुका केही महिना त तलब मागिनँ, तीन महिना बितेपछि पैसाको आवश्यकता पनि बढ्न थाल्यो अनि माग्न थालें।’
पासपोर्ट बनेर आएको केही समयपछि फूलमायाले कुवेत जाने भन्दै राति ३ बजे गाडी लिएर गोमालाई लिन आइन्। अनि हेटौंडा लगेर भुवनदास नाम गरेको व्यक्तिलाई जिम्मा लगाइन्। भुवनदासले भारतको मुम्बई लगेर फेरि बराल नाम गरेका व्यक्तिलाई जिम्मा लगाए।
महिनाको ४० केडी (कुवेती दिनार) पाउने भनी गोमा कुवेत गएकी थिइन्। तीन महिनाको १ सय २० केडीमा १० केडी गोमालाई दिएर मालिकले बाँकी पैसा गोमाको आमाको नाममा नेपाल पठाइदिए। गोमाले १० वर्षअघिको विगत सम्झँदै भनिन्, ‘बेलुकी घर आएर फूलमायालाई आमाको नाममा पैसा पठाएको छु आमाले झिक्न जान्नुहुन्न तपाइँ पनि सँगै गएर झिकिदिनुस है दिदी भनें।
कुवेत गएको तीन महिनापछि त्यही एक पटक उनले फोन गर्न पाएकी थिइन्, परिवारलाई।’ घरमा पैसा पठाएपछि उनले झनै पीडा भोग्नु प-यो। त्यसपछि उनलाई मालिक्नी र उनका छोराहरुले कराउन र कुटपिट गर्न थाले।
गोमाले त्यहाँको भाषा बुभिसकेकी थिइनन्। अनि त्यही घरमा बस्ने एक जना भारतीय मुलका नेपाली बोल्ने केटालाई उनले सबै कहानी सुनाइन। त्यो केटाले गोमालाई भन्यो, ‘यो घरमा त यस्तै हो सबैले कराउँछन् मात्रै, तिमी कहाँबाट आएको त्यही मान्छेलाई फोन गरेर जानकारी गराउनु।
त्यस भारतीय केटाले भनेजस्तै गोमाले मीना(जसले गोमालाई कुवेतमा रिसिब गरेकी थिइन्) लाई सबै कुरा भनिन्। तर, मीनाले ‘एउटा कानले सुन्नु, अर्कोले उडाउनु’ भन्ने जवाफ दिइन्। त्यसको २/३ महिनापछि त्यस घरबाट निकालेर अर्को घरमा राखिदिने आश्वासन पनि मीनाले गोमालाई दिइन्।
त्यसपछि झनै गोमाले पीडा सहनु पर्यो। भन्छिन्, ‘घर सफा गर्दा कहिले के हरायो, कहिले के हरायो भन्दै मालिकका छोराले कुट्थे। रक्सी र गाँजा खाएर आउँथे, कहिले रडले हान्थे त कहिले कपाल भुत्ल्याएर भित्तामा ठोकाइदिन्थे।
यसरी दिनदिनै कुटाइ खानुपर्दा गोमा शिथिल भइसकेकी थिइन्। विगतका ती कुरा झिक्दै उनी भन्छिन्, ‘एक दिन भाँडा माझ्दै थिएँ, पछाडिबाट मालिक्नी आएर चक्कुले मेरो पाखुरामा हानी, त्यसपछि रगत बग्न थाल्यो। हात र खुट्टामा लागेको चोट देखाउँदै उनले भनिन्, ‘मालिक्नीका नातिनातिना मसँग धेरै मिल्थे उनीहरुले मेरो रगत बगेको देखेपछि भित्र गएर रुन थालेछन्, अनि के भयो भनेर मालीक्नीकी बुहारीले सोध्दा गोमाको हातबाट रगत बगिरहेको छ भन्दै रोएका रहेछन्।
तर मालिक्नीले परिवारसँग भने चम्चाले हानेको भन्दै ढाँटी, घाइते उनलाई अस्पताल लैजाने भनेर तीन दिन कुराएको उनी बताउँछिन्। भन्छिन्, ‘अस्पतालमा नर्सहरुलाई भने लडेर काटेको भन्दै उनीहरुले ढाटें, म चुपचाप बसिरहें।
पिटाइ नखाएको दिन सायदै होलान् गाेमाले !
२०६६ जेठ ८ गते उनी भारत हुँदै कुवेत उडेकी थिइन्। विदेशमा टन्नै पैसा कमाइ हुन्छ। जिन्दगी जिउन सजिलो हुने आसैआसमा गएकी गोमाले उडेकै दिनदेखि सास्ती भोग्न बाध्य भइन्। उनको शरीरभरि खतैखत छ। अहिले पनि चोटै चोट छ। उनले कुटाइ नखाएको दिन थिएन।
जब मालिकको छोरोलाई गाँजाको केसमा प्रहरीले समातेर लग्यो। त्यसपछि भने उनको पिटाइ खाने क्रम केही रोकियो। उनी भन्छिन्, ‘त्यसपछि मालिक्नीले मात्रै कुट्न थाली। उनी थप्छिन्, ‘पासपोर्ट उसैले राखेकी थिई पछि सामान लिन जाने बेलामा भेट्टाएँ अनि आफैंले राखें।
त्यो घरबाट भागें !
गोमा बस्ने घर नजिकको अर्को घरमा चितवन नारायणघाटकी उर्मिला बस्थिन्। गोमालाई उर्मिलाको नाम मात्रै रहेछ। गोमाले उर्मिलालाई आफूले पाएको सबै दुःख सुनाइन्। त्यसपछि उसले एउटा मोबाइल किनेर दिई, फेसबुक, भाइबर र इमो खोलेर।
सामाजिक सञ्जालबाट उनले आफू फसेको भन्दै नजिकका मान्छेहरुलाई भन्न थालेपछि वर्क फर नेपाल फाउन्डेसनका सदस्यसामु यो कुरा पुग्यो। कुवेतमा बस्ने संगीता लोप्चन र एक चालकले सो संस्थामा छलफल चलाएपछि उनलाई उद्धार गर्न लागिपरे संस्थाका सचिव तथा कलाकार नवीन खड्का।
‘ट्याक्सी बाहिर छ, छिटो आऊ भन्नुभयो। त्यतिबेला बिहानको ९/१० जति बजेको थियो होला। मालिक/मालिक्नी सुतिरहेका थिए। मोबाइल, पासपोर्ट बोकेर विस्तारै बाहिर निस्किएँ, अनि भागें।’ गोमाले कुवेतको त्यो ‘जेल’बाट भागेको दिनको बेलिविस्तार लगाइन्।
ती संस्थाका मानिसहरुले गोमालाइ कुवेतस्थित नेपाली दूतावासमा पुर्याए। गोमा भन्छिन्, ‘त्यहाँ पुगेपछि पनि मेरो इमो खुला थियो, प्रहरी लगाएर समात्छु भन्दै मालिकले फोन गरेर धम्क्याउन थाल्यो। मालिक दूतावासमा आएको थियो, तर त्यहाँका सरहरुले मलाई नेपाल पठाउदिनुभयो।
दूतावासमा आएपछि घर कुरा गर्न पाएकी गोमाले भनिन्, ‘मेरो बोली सुनेपछि आमा साह्रै रुनुभयो।’ उनी भन्छिन्, ‘परिवारले मेरो आस मारिसकेका रहेछन्, १० वर्षसम्म मेरो पत्तो नपाउँदा घरकाले म मरिसकेको भनेका रहेछन्।
दूतावासमा करिब डेढ महिना बसेपछि उनी नेपाल फर्किएकी थिइन्। नेपाल फर्किंदा उनलाई दूतावासले ५ सय केडी खर्च दिएको थियो। विगतका ती दिन सम्झँदै उनी भन्छिन्, ‘मैले जम्मा ३ महिनाको १ सय २० केडी पाएछु, त्यो घरमा ९ वर्ष १२ दिन काम गरेकाे छु।
फाउन्डेसनका सचिव खड्काका अनुसार गोमाले चार वर्षको महिनाको ४० केडीका दरले १ हजार ९ सय २० केडी र बाँकी ५ वर्षको महिनाको ७० केडीका दरले ४ हजार २ सय केडी पाउनुपर्छ। यसका लागि दूतावासले पहल गरिरहेको पनि उनले बताए।
उनले जम्मा २२ लाख ४४ हजार ८ सय १६ रुपैयाँ पाउनुपर्ने दाबी गरिएको छ। मालिकसँग गोमाको क्षतिपूर्तिका लागि दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले सहकार्य गरिरहेको सचिव खड्काले जानकारी दिए।
१० वर्षपछि नेपाल फकिइन् !
उनी करिब १० वर्षपछि ०७६ वैशाख १२ गते नेपाल फर्किइन्। नेपाल आएलगत्तै उनले वैशाख १५ गते फूलमायाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा हालेकी छन्।
उक्त जाहेरीमा मीनाले ०६६ जेठ ८ गते कुवेतीलाई ४ सय केडीमा बेचेको उल्लेख छ। ‘श्रम शोषण, शारीरिक शोषण, मानसिक शोषण र यातना दिई १० वर्षसम्म परिवारलाई कुनै सम्पर्क गर्न नदिई बन्दक बनाइयो’ जाहेरीमा उल्लेख छ। नेपाल फर्किएपछि उनले आमालाई पहिला पठाएको सबै पैसा पाउनुभयो भनेर सोधिन्।
०६६ सालमा गोमाले १ सय १० केडी आमाको नाममा पठाएकी थिइन्। कुवेतमा रहेकी संगीता लोप्चनका अनुसार ०६६ सालमा कुवेतको एक केडीको नेपालमा २ सय ४० रुपैयाँ आउँथ्यो। त्यो हिसाबले १ सय १० केडीको नेपालमा करिब २६ हजार ४ सय रुपैयाँ हुन आउँथ्यो। गोमाले भनिन्, ‘तर आमालाई फूलमायाले जम्मा १२ हजार नेपाली रुपैयाँ मात्रै दिएकी रहिछिन्।
२२० जना उद्धार गरिसक्यौं !
वर्क फर नेपाल फाउन्डेसनले हालसम्म २ सय २० जनाको उद्धार गरेको जनाएको छ। संस्था चलाएको छोटो समयमै आफूहरुले विदेशमा दुःख पाएकालाई उद्धार गर्ने गरेको संस्थाका उपाध्यक्ष दावा थोकरले बताए। दलालहरूसँग जुद्दाजुद्दै उनीहरुलाई नेपाल ल्याउन सफल भएकाे उनले बताए। गोमासँगै सोही दिन कुवेतबाट पाँच जनालाई उद्धार गरिएको संस्थाकी सदस्य कृति गोलेले बताएको नागरिक दैनिकमा खबर छ।