प्रवीण नेपाल
स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा
आँशुका थोपा झरेर गए बिलाए माटोमा
बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन्
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन्
पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश
पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर
सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर
खबर के छ, संदेश के छ, सुनाई जानु है
कोशेली मेरो आँशुका थोपा बोकेर लानु है
बाडुली लाग्यो, बिहान-साँझ मन यो झस्कियो
सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो
किन हो किन सपनी पनि नराम्रो देख्दैछु
बिहान उठी, सम्झेर उनी घाँटी यो खस्कियो।।
– सिन्धुपाल्चोक