News Portal

पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम खलंगा, त्रासमा स्थानीय बासिन्दा

हिमाली संचार संवाददाता
१०५८ पटक

जाजरकोट – लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् ।

जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र ४ का न्यूरोड, शान्ति चौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँला लगाएत स्थानमा रहेका ४ दर्जन घर पहिराको उच्च जोखिममा परेका छन् ।

वर्षाले घरमूनि पहिरो जान थालेपछि खलंगाका बासिन्दा जाग्राम बस्न बाध्य छन् । पहिरोले न्यूरोड र ठाँटी बजारको पूरै बस्ती बग्ने खतरा छ । ४/५ तले पक्की घर पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा त्रासमा छन् ।

पहिरोले भद्रबहादुर वली, गुलाबी सुनार, केशव बस्नेत, तेजबहादुर खत्री, शान्तबहादुर शाही, लोकबहादुर खत्री, मेनुका खड्का, हर्कबहादुर खड्का, गणेशबहादुर थापा, बलबहादुर विक, रेशम सुनार, भीमराज सिंह, गणेश कामी लगाएतको घर उच्च जोखिममा परेको स्थानीय कमान खड्काले बताउनुभयो ।

चारैतिर पहिरो खसेपछि खलंगा बजारमा ३ सातादेखि यातायात ठप्प छ । वर्सात् शुरु भएसँगै यही साउन पहिलो सातादेखि खलंगा पहिरोको घेरामा परेको छ । खलंगा–पाँचकटिया, खलंगा–नेपालगञ्ज र खलंगा–रिम्ना हुँदै डोल्पा जाने सडक वातावरणीय प्रभाव मूल्यांकन नगरी खनेकाले पहिरो खसेको हो ।

यस्तै ३ साताअघिको वर्षाले खहरे खोला, भेलाले, न्यूरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँला लगाएत स्थानमा सडक भत्किएको छ । खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन । पैदलयात्री जोखिमसाथ आवतजावत गर्न बाध्य छन् । सडक विस्तार गर्दा नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ ।

मापदण्डअनुसार सडक निर्माण र उचित ढल निकासको व्यवस्था नहुँदा खलंगा बजार घेरेर पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको स्थानीय कमान खड्काले बताउनुभयो । भिरालो भू–बनोटको खलंगामा डोजर लगाएर जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको स्थानीय बासिन्दा बताउँछन् ।

रुपैडियादेखि तेञ्जे जोड्ने भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्ति चौतारा कालेगाउँ सडक स्तरोन्नति गर्दा ग्याभिङ, नाली लगाएतमा ध्यान नदिइएकाले बजार पहिरोको खतरामा परेको हो । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड स्तरोन्नतिका लागि गतिलो डिजाइन र गुणस्तरमा ध्यान नदिँदा ठाउँठाउँमा पहिरोको जोखिम भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

यसले गर्दा खलंगा बजारका ४ दर्जन पक्की घर जोखिममा परेको उहाँको भनाइ छ । सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडक छेउमा जथाभावी सेफ्टीट्यांकी बनाउनु, भत्किएको सडक समयमै मर्मत सम्भार नगर्नु, जथाभावी वन विनाश गर्नु लगाएतले पहिरोको जोखिम बढेको घर्तीले बताउनुभयो ।

सिटिजन बैंक नजिक, खहरेखोला र रेडक्रस भवन तलको पहिरो नियन्त्रण गर्न करोडौँ बजेट आवश्यक पर्ने प्रमुख घर्तीको भनाइ छ । भिरालो जमिनमा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४/५ तले घर निर्माण गर्नु जोखिम लिनु हो”, उहाँले भन्नुभयो ।
रासस

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...