News Portal

कारागारभित्रै ‘स्लो पोइजन’ उत्पादन, परीक्षण गर्दा सुनारको मृत्यु !

५३४ पटक

गौरव पोखरेल
काठमाडौं – ललितपुरको नख्खु कारागारभित्र कैदी भक्तबहादुर सुनारको फिल्मी शैलीमा ‘विष’ खुवाएर हत्या गरिएको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले कारागारभित्रै उत्पादन गरिएको ‘स्लो पोइजन’ खुवाएर सुनारको हत्या भएको खुलेको हो ।

कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘सिरियल किलर’ अभिषेक सिंहको योजनामा सुनारलाई विष खुवाएको पाइएको ब्यूरोका निर्देशक नारायणसिंह खड्काले बताए ।

उनका अनुसार सिंहले बैंकिङ कसुर मुद्दामा कारागारभित्रै रहेका ३५ वर्षीय मनोजकुमार चौरसिया र चोरी मुद्दामा कैद सजाय भोगेर छुटेका ३० वर्षीय ध्रुवकृष्ण शर्माको सहयोगमा सुनारको हत्या गरेको हुन् ।

जेलभित्रै उत्पादन गरिएको अग्र्यानिक विषको परीक्षण गर्न सुनारलाई खुवाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कारागारमै बन्यो विष, साथीमाथि परीक्षण !

सीआईबीका अनुसार मुख्य योजनाकार सिंहसँग एलोपेथिक र होमियोप्याथिकको राम्रो ज्ञान छ । ‘उसको औपचारिक अध्ययनबारे केही खुलेको त छैन । यद्यपि, रसिया, जर्मन र भारतमा सिकेको बयान दिएका छन्’, खड्काले भने, ‘त्यसलाई उनले प्रयोग गरेको देखिन्छ ।’

ब्यूरोका एसपी कृष्णहरि शर्माका अनुसार एक दिन सिंहले मनोज चौरासियालाई ‘पैसा कमाउने’ गज्जबको ठगी योजना सुनाए ।

‘सुनसरीमा एउटा जग्गा सस्तोमा किन्नुपर्छ, त्यसलाई नक्कली कागजपत्र बनाएर अर्कोलाई बेचेर नाफा बाँड्नुपर्छ’, उनले चौरासियालाई भनेका थिए, ‘किन्ने मान्छेले आफ्नो जग्गा खोजेर समस्या सिर्जना गरे त्यसलाई सिध्याइदिने ।’

‘सिध्याउने त सिध्याउने तर, कसरी ?’, चौरासियाले जिज्ञासा राख्छन् । त्यसपछि सिंहले आफ्नो पुरानै शैलीबारे बेलीविस्तार लगाउँछन् ।

उनीहरुले प्राकृतिक वनस्पतिहरुको प्रयोग गरेर मन्द विष बनाउने योजना बुन्छन् । त्यसपछि कारागारभित्रै सुरु हुन्छ, फिल्मी शैलीको हत्या योजना ।

उनीहरुको योजनालाई सफल बनाउन कारागार बाहिर भएका एक जनाको सहयोग आवश्यक हुन्छ । त्यसका लागि उनीहरुले उपयुक्त पात्र छाने, दोलखाका वैतेश्वर–६ का ३० वर्षीय कैदी ध्रुवकृष्ण शर्मा ।

शर्मा १६ कात्तिक ०७२ मा भएको चोरी मुद्दामा ललितपुर अदालतको आदेशले ४५ दिनको कैद भुक्तान गरी २ लाख ४० हजार रुपैयाँ जरिवाना तिरेर छुटेका थिए । प्रलोभनमा पारेर शर्मालाई उनीहरुको योजनाको एउटा पाटो बन्छन् र, सिंहले भने अनुसारको वनस्पती कारागारसम्म ल्याइदिन्छन् ।

एकतिरले दुई शिकार

त्यसपछि कारागारभित्रै बन्छ, खतरनाक विष । विष त तयार भयो ? तर, काम गर्छ कि गर्दैन ? उनीहरुले विषयको परीक्षण गर्ने योजना बनाउँछन् ।

सिंहलाई कारागार प्रशासन र आन्तरिक प्रशासन पनि प्रभुत्व जमाउनु थियो । तर, सकिरहेका थिएनन् । त्यसपछि उनीहरुले कैदी भक्तबहादुर सुनारलाई आफ्नो ‘टार्गेट’ बनाउँछन्, जो उनीहरुकै साथी थिए ।

त्यसपछि सुनारको खानामा विष मिसाइदिन थाल्छन् । विषको परीक्षण पनि हुने, कैदीको मृत्युपछि तत्कालीन चौकीदार बुद्ध गुरुङ पनि दोषी ठहर हुने । यसो हुँदा उनको स्थान आफूले पाउने उनको विश्वास थियो । अनि, सुरु हुन्छ, कैदी भक्तबहादुर सुनारको दिनगन्ती ।

दैनिक ‘स्लो पोइजन’ खान थालेपछि १९ वैशाखमा सुनारलाई ज्वरोले सताउँछ । बान्ता हुन्छ, ब्लड प्रेसर पनि घट्छ ।

स्थिति गम्भीर भएपछि २० गते वीर अस्पतालमा भर्ना गरियो तर, स्थिति सुध्रिनुको साटो झन् झन् बिग्रिँदै जान्छ । आईसीयूमा राख्नु पर्ने हुन्छ । त्यहाँ वेड उपलब्ध नहुँदा २१ गते पाटन अस्पताल सारियो र उपचारको क्रममै २२ गते उनले प्राण त्याग्छन् ।

सुनारको मृत्युसँगै ‘मेड इन प्रिजन’ विषको सफल परीक्षण त हुन्छ । तर, जब गृहमन्त्रीसमक्ष कारागारको आन्तरिक प्रशासनमा हुने अनियमितताबारे लेखिएको पत्र पुग्छ, तब कहानीमा ट्वीस्ट आउँछ

मर्नुअघि गृहमन्त्रीलाई लेखेको त्यो पत्र !

सुनारको मृत्युसँगै ‘मेड इन प्रिजन’ विषको सफल परीक्षण त हुन्छ । तर, जब गृहमन्त्रीसमक्ष कारागारको आन्तरिक प्रशासनमा हुने अनियमितताबारे लेखिएको पत्र पुग्छ, तब कहानीमा ट्वीस्ट आउँछ ।

सुनारको नाममा लेखिएको पत्रमा कारागारमा हुने गरेको अनियमितता र उनीमाथि भएको दुव्र्यवहारबारे लेखिएको थियो । पत्र सिंहकै योजनाको एउटा पाटो थियो, जुन ‘अनसक्सेस प्लान’ साबित भएको छ ।

‘कारागारको आन्तरिक प्रशासनलाई गलत देखाउने उद्देश्यले गृहमन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको पत्र सिंहकै योजनामा ध्रुवकृष्ण शर्माले मृतकका दाजुलाई दिएका थिए’, सीआईबीका अधिकारी भन्छन्, ‘त्यो पत्र सिंहकै योजनामा सुनारको मृत्यु हुनु अघि लेख्न लगाइएको थियो ।’

त्यो पत्र सुनारलाई अस्पताल लैजानु अघि १९ वैशाखमा शर्माले नै ललितपुरको एक साइबरबाट स्क्यान गरेर गृह मन्त्रालयमा मेल गरेको खुलेको छ ।

विकिनी किलर चार्ल्स शोभराजसँग तुलना गर्दै सिंहलाई नेपाली चार्ल्स शोभराज उपनाम समेत दिइएको छ

गृह मन्त्रालयमा पत्र पुगेपछि घटना रहस्यमय भएको भन्दै छानबिनका लागि कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भयो ।

समितिले गम्भीर प्रकृतिको घटना भएको औंल्याउँदै कर्तव्य ज्यानमा थप अनुसन्धान गर्नुपर्ने देखिएको विवरणसहित प्रतिवेदन बुझाएपछि यो केस केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको जिम्मामा आएको थियो ।

को हुन् सिंह ?

अभिषेकराज सिंह बाँकेको साविक नेपालगञ्ज नगरपालिका–२, बागेश्वरीका हुन् । विकिनी किलर चार्ल्स शोभराजसँग तुलना गर्दै उनलाई नेपाली चार्ल्स शोभराज उपनाम समेत दिइएको छ ।

उनी ३ वटा हत्या र एउटा हत्या प्रयासको घटनामा संलग्न थिए । प्रहरीको रकर्ड अनुसार उनले सुर्खेत, भक्तपुर र जनकपुरमा ३ वटा हत्या गरेका थिए भने रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुछिएका थिए ।

सबै घटनामा विषादीको प्रयोग भएको छ । ‘सुरुमा सुनारको पोष्टमार्टम र भिसेरा रिपोर्टमा केही फल्ट देखिएको थिएन’, सीआईबीका एक अधिकारी भन्छन्, ‘तर, सूक्ष्म अनुसन्धान गर्दै जाँदा सफलता हाँसिल भएको हो ।’

सुनारको हत्या प्रकृति सिंहको मोडस अपरेन्डी (अपराध शैली) सँग मेल खाएपछि उनीतर्फ अनुसन्धान सोझिएको थियो ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...