हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको ढोकाकै आडमा लम्पसार थिइन् हेटौंडा–६, चौघडाकी ७० वर्षीया सुन्तलीमाया परियार । उनी कहिले आफ्नो पछ्यौरालाई ओच्छ्यान बनाएर सुत्थिन् भने कहिले उठेर सुँक्क–सुँक्क गर्दै सहयोगको याचना गर्थिन् ।
‘मलाई कसैले हेरेनन्, एक्लै छु । छोरा, बुहारी थिए, सम्पति सबै सकें । बिरामी छु, सहयोग गर्नुस न,’ उनले यसरी याचना गरिरहेकी थिइन्–मेरो छाति फुलेको छ रे । हस्पिटल जानु छ । पैसा दिनुस् न । उनको याचना कार्यालयमा आउने कमैले सुने, सुन्नेले भने केही सहयोग गरे । कोहीले पैसा दिए भने कोहीले पानी किनेर ल्याइदिए ।
उनका नातिनातिनीहरु जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका रहेछन् । उनीहरुले हजुरआमा सुन्तलीलाई पनि सँगै लिएर आएका रहेछन् । केहीबेरमा भित्रबाट वृद्धाकी नातिनीले वरपर हेर्दै सुनाइन्–आमा उठ्नुस्, अस्पताल जानुछ । काम सकिनै लाग्यो ।
नातिनी त्यति भनेर चुप लागेपछि फेरि उनले रुँदै भनिन्–मलाई काम परेर यहाँ ल्याए । म नभई नागरिकता बन्दैन थियो । काम हुँदा सम्झिन्छन्, नत्र म कहाँ छु, कसैले वास्ता गर्दैनन् । काम सकिएपछि एक्लै बनाएर छोड्छन् । उनले छोराबुहारीको मृत्यु भइसकेका कारण आफूलाई नातिनातिनीले यहाँ ल्याएको सुनाइन् । उनले अस्पताल गएर उपचारका लागि याचना गरिन् ।
‘न्युरेनीस्थित एक घरमा सहारा लिएर पेट पाल्दै छु,’ उनले सुनाइन्–मेरो छाति फुलेर बाँच्नै गाह्रो परिसक्यो, कसैले उपचार गरिदिँदैनन्, अब भगवानको हातमा छु ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यालय समयमा भीड हुन्छ । नागरिकता, राहदानीलगायत सरकारी कामकाजले सर्वसाधारणको भीड कार्यालय परिसरमा बाक्लै थियो । जिल्लाका ग्रामीण भेगदेखि हेटौंडा उपमहानगरसम्मका सर्वसाधारणको भीडबीच एक वृद्धा एक्ली थिइन्, जो अरुको नजरमा परिन् । (नेस)