रंगेली अस्पतालका स्वास्थ्यकर्मीद्वारा जनचेतनामूलक र्याली सम्पन्न

मोरङको रंगेलीमा विश्व सीओपीडी दिवसको अवसर पारेर दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग (सीओपीडी) बारे जनचेतना फैलाउने उद्देश्यले रंगेली अस्पतालले जनचेतनामूलक र्याली आयोजना गरेको छ।
अस्पतालको प्राङ्गणबाट सुरु भएको र्यालीमा अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। र्यालीले मुख्य बजार, बसपार्क, खानेपानी सडक हुँदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। सो क्रममा सीओपीडी रोगको जोखिम, लक्षण, समयमै पहिचान तथा उपचारको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराइएको थियो।
र्यालीमा ‘समयमै सीओपीडी रोग पहिचान गरौँ, सही उपचार अपनाऔँ, जीवन सहज बनाऔँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो।
सीओपीडी फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा असर गर्ने दीर्घकालीन रोग हो। विशेषगरी धूमपान, वायु प्रदूषण, धुलो–धुवाँ तथा हानिकारक ग्यासको लामो समयसम्मको सम्पर्क यस रोगका प्रमुख जोखिम हुन्। लामो समयसम्म खोकी लाग्ने, खकार आउने र सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन्।
चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण, समयमै रोगको पहिचान र उचित उपचार अपनाउन सके यसबाट हुने जटिलता तथा जोखिम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कडेल, डा. अनु यादव, डा. चन्द्रशेखर, डा. आशिष यादवसहित अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
विश्व सीओपीडी दिवसले श्वासप्रश्वाससम्बन्धी रोगबारे नागरिकलाई सचेत गराउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको मेसु कडेलले बताए। स्थानीय समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अस्पतालले यस्तो कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए।

















