आर्थिक अभावले नोबेल अस्पतालको बेडमा छटपटाउँदै रंगेलीका युवा, उपचारका लागि सहयोगको अपिल

मोरङ- रंगेली नगरपालिका–७ पिपल चोक निवासी रोशन सहनी यतिबेला आर्थिक अभावका कारण अस्पतालको बेडमै जीवनसँग संघर्ष गरिरहेका छन्।
टाउकोमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको हो। तर, आर्थिक अवस्था कमजोर हुँदा थप उपचार गराउन कठिनाइ भएपछि परिवार चिन्तित बनेको छ।
बुवा चलित्रा सहनी र आमा शिला सहनीका दुई छोरा र एक छोरीमध्ये जेठा छोरा रोशनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि परिवार ठूलो संकटमा परेको छ।
परिवारका अनुसार उपचारका क्रममा अहिलेसम्म करिब ७० हजार रुपैयाँ खर्च भइसकेको छ। तर, थप उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा समस्या भएको रोशनका काका रामचन्द्र सहनीले बताए।
उनका अनुसार चिकित्सकले रोशनको टाउकोमा समस्या रहेको बताएका छन्। उपचार सुरु भएदेखि हालसम्म रोशनको होससमेत नआएको र थप उपचार आवश्यक रहेको उनले जानकारी दिए। अहिले उपचारका क्रममा दैनिक करिब १५ हजार रुपैयाँ खर्च भइरहेको परिवारको भनाइ छ।
सामान्य रोजगारी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको सहनी परिवारसँग उपचार खर्च जुटाउने आर्थिक हैसियत नहुँदा बिरामीको उपचारमा कठिनाइ भइरहेको छ।
आर्थिक अभावकै कारण रोशनको उपचार प्रभावित हुने अवस्था आएपछि परिवारले सहयोगी मन भएका व्यक्ति, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसमक्ष आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।
तपाईंको सानो सहयोगले पनि रोशनको जीवन बचाउने उपचार यात्रामा ठूलो राहत पुग्न सक्छ। मानवीय सेवाको भावनासहित आफूले सकेको सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।


















