रतुवामाईमा जुवातास खेलिरहेको अवस्थामा कपिल, अरुण र उपेन्द्रसहित सात जना पक्राउ

मोरङको रतुवामाईमा नेपाली तथा भारतीय नागरिक सहभागी भई जुवातास खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन्।
रतुवामाई नगरपालिका–७, कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको खाली घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बिहान करिब ३ः३० बजे छापा मारेको हो।
सिजुवा प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई, ३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र रतुवामाई–७ का ४६ वर्षीय कपिल साह रहेका छन्।
त्यसैगरी, भारतको किशनगन्ज जिल्ला, पक्खली पञ्चायत डुमरिया–४ का ३५ वर्षीय अजय सोजार, ३० वर्षीय सुरज शाह र २८ वर्षीय राजु सोनार तथा डुमरिया–७ का २२ वर्षीय सुरज मण्डल पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली र भारतीय गरी कुल ३५ हजार २२० रुपैयाँ, चारवटा मोटरसाइकल, सातवटा मोबाइल फोन र तीन बुङ तास बरामद गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बरामद रकममध्ये नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० रहेको छ।
बरामद मोटरसाइकलमध्ये अरुणकुमार गनगाईको नाममा रहेको बीआर ३८ एआर ३२१३२, सुरज साहको को १–०१–०१८ प १६४०, कपिल साहको को १–०२–०५३ प ८७६६ र राजु सोनारको बीआर ३७ एएल ४८९४ नम्बरका मोटरसाइकल रहेका छन्।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।















