ऋषिदेव परिवारको पीडा : दुई छोरा सम्पर्कविहीन, पाँच नातिनातिनाको पालनपोषण गर्दै वृद्ध दम्पती

रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको परिवार यतिबेला एकपछि अर्को समस्याले थिचिएको छ। वृद्धावस्थामा पुगेका महेन्द्र र उनकी श्रीमती सावित्री देवी ऋषिदेव आफ्नै सन्तानको सहाराबाट टाढिएका छन् भने लामो समयदेखि बस्दै आएको घरसमेत भत्काइएपछि परिवारको दैनिकी थप कठिन बनेको छ।
महेन्द्रका दुई छोरा केशि कुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका थिए। भारत गएपछि दुवै छोरा अहिलेसम्म घर फर्किएका छैनन्। लामो समयदेखि छोराहरूले फोनसमेत नगरेको महेन्द्रले बताए।
वृद्ध अवस्थामा सहारा बन्नुपर्ने छोराहरू नै सम्पर्कविहीन भएपछि आफूहरू एक्लै जीवन गुजार्न बाध्य भएको उनको भनाइ छ।
महेन्द्रकी जेठी छोरी राधा देवी ऋषिदेव पनि रोजगारीको सिलसिलामा अन्यत्र छिन्। उनका श्रीमान्को करिब दुई वर्षअघि भारतको पञ्जाबमा मृत्यु भएपछि उनका पाँच छोरी र एक छोरा अहिले महेन्द्रकै जिम्मेवारीमा छन्।
वृद्धावस्थामा रहेका महेन्द्रले आफ्ना नातिनातिनाको पालनपोषणसँगै उनीहरूको शिक्षाको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। उनका नातिनी रेणु ऋषिदेव महालक्ष्मी माध्यमिक विद्यालय, आमगाछीमा कक्षा ८ र सोनु ऋषिदेव कक्षा ३ मा अध्ययनरत छन्। अन्य नातिनातिना साना भएकाले घरमै रहने गरेको महेन्द्रले बताए।
उनकी कान्छी छोरी रुकमणि ऋषिदेवको विवाह भइसकेको छ। उनी अन्यत्र बस्दै आए पनि समय–समयमा बुवा–आमाको हेरचाह गर्दै आएको महेन्द्रले बताए।
५० वर्षभन्दा पुरानो बसोबास, डोजरले भत्काइयो घर
महेन्द्रको परिवार रंगेली–९ धनजुवास्थित सोही क्षेत्रमा ५० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको बताइएको छ। देवीस्थानको करिब १३ घुर ऐलानी जग्गामा घर बनाएर उनीहरू बस्दै आएका थिए।
सोही स्थानमा ऋषिदेव समुदायको दिनाभद्री मन्दिर निर्माण गर्ने योजना अघि बढेपछि परिवारलाई उक्त स्थान खाली गर्न आग्रह गरिएको थियो। स्थानीयस्तरबाट पटक–पटक आग्रह गरिए पनि घर नहटाएपछि नगरपालिकाले डोजर प्रयोग गरी घर भत्काएको रंगेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मीले बताए।
वडा अध्यक्ष रेग्मीका अनुसार महेन्द्र ऋषिदेवलाई करिब दुई वर्षदेखि पटक–पटक उक्त स्थान खाली गर्न आग्रह गरिँदै आएको थियो। तर घर नहटाएपछि अन्ततः डोजर प्रयोग गर्नुपरेको उनको भनाइ छ।
रेग्मीका अनुसार उक्त स्थानमा दिनाभद्री मन्दिर निर्माणका लागि स्थानीयस्तरमा करिब ६० हजार रुपैयाँ रकम संकलन भइसकेको छ। सोही रकमबाट मन्दिर निर्माणको काम सुरु गर्ने उद्देश्यले देवीस्थानको जग्गा खाली गराइएको उनले बताए।
न जग्गा छ, न नियमित आम्दानी
आफ्नै जग्गा नभएको र नियमित आम्दानीको स्रोतसमेत नभएका कारण महेन्द्रको परिवारको अवस्था झन् कठिन बनेको छ। महेन्द्र सामान्य ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका छन्। तर अहिले गाउँघरमै काम पाउन मुस्किल भएपछि दैनिक गुजारा चलाउनसमेत समस्या भएको उनले बताए।
“घर गएपछि कहाँ बस्ने भन्ने समस्या भयो। अहिले अर्काको जग्गामा बसेका छौँ। काम पाए मजदुरी गर्छु, काम नपाए घरमा चुलो बल्नसमेत समस्या हुन्छ,” महेन्द्रले भने।
वृद्ध दम्पतीसहित आठ जनाको परिवारको जिम्मेवारी आफ्नै काँधमा रहेको उनले बताए। परिवारमा विद्यालय जाने बालबालिका पनि छन्। चाडपर्व नजिकिँदै गर्दा बालबालिकाका लागि आवश्यक कपडा, शैक्षिक सामग्री तथा दैनिक खानपानको व्यवस्था गर्नसमेत समस्या भइरहेको परिवारले जनाएको छ।
दिनाभद्री मन्दिर निर्माणका लागि ऐलानी जग्गा खाली गराउने निर्णयपछि लामो समयदेखि त्यही ठाउँमा बस्दै आएको परिवार घरबाट विस्थापित भएको छ। घर भत्किएपछि उनीहरूको वैकल्पिक बसोबास र जीविकोपार्जनको अवस्था थप कठिन बनेको छ।
महेन्द्रको परिवारलाई अहिले तत्काल खाद्यान्न, लत्ताकपडा, बालबालिकाका लागि शैक्षिक सामग्री तथा सुरक्षित बसोबासको आवश्यकता देखिएको छ।
घर गुमेको पीडासँगै वृद्धावस्थामा आफ्नै सन्तानको सहारा नपाउनुको पीडा पनि महेन्द्रले खेपिरहेका छन्। पाँच नातिनी र एक नातिको जिम्मेवारी बोकेका उनी अहिले परिवारको दैनिक आवश्यकता पूरा गर्न सहयोगी हातको प्रतीक्षामा छन्।


















