मिनिल्याण्डको उत्कृष्ट प्रदर्शन, नगरस्तरीय स्पेलिङ कन्टेस्टमा प्रथम

रङ्गेली- रङ्गेली नगरपालिकाभित्रका १२ वटा विद्यालयको सहभागितामा सम्पन्न नगरस्तरीय स्पेलिङ कन्टेस्टमा मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रङ्गेलीले प्रथम स्थान हासिल गरेको छ।
नगर प्याब्सन रङ्गेलीको आयोजनामा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूको अंग्रेजी शब्दज्ञान, सही हिज्जे तथा उच्चारण क्षमताको प्रतिस्पर्धात्मक परीक्षण गरिएको थियो। प्रतियोगितामा मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल प्रथम, दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुल द्वितीय र न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्। त्यस्तै, ज्ञान ज्योति बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरू जिल्लास्तरीय स्पेलिङ प्रतियोगिताका लागि छनोट भएका छन्। नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूले अब जिल्ला तहमा रङ्गेलीको प्रतिनिधित्व गर्दै आफ्नो क्षमता प्रस्तुत गर्नेछन्।
मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक विकर्ण कार्कीले विद्यार्थीहरूले नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै आगामी जिल्लास्तरीय प्रतियोगितामा पनि राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।
विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रतिको रुचि बढाउनुका साथै शब्दज्ञान, शुद्ध हिज्जे, सही उच्चारण र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
प्रतियोगितामा रङ्गेली नगरपालिकाभित्रका १२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।


















