आज : २०२६-०८-१९, बुधबार

हेटौंडा–१९ मा बासुदेव खोलाले चार विद्यार्थी बगायो, एक जनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई बगाएको छ।

निर्मल माध्यमिक विद्यालय, हेटौंडा–१९ मा अध्ययनरत विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढी तथा तीव्र बहावका कारण बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बगाइएका विद्यार्थीहरू सबै कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।

घटनामा एक जना विद्यार्थी मृत अवस्थामा फेला परेको जनाइएको छ। अन्य विद्यार्थीहरू बेपत्ता भएपछि स्थानीयवासी, सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी कार्य जारी राखेका छन्।

विद्यालयबाट घर फर्किने क्रममा बालबालिका खोलाले बगाएपछि घटनाले स्थानीयवासी, अभिभावक तथा विद्यालय परिवारलाई स्तब्ध बनाएको छ। घटनाको विस्तृत विवरण तथा बेपत्ता विद्यार्थीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको छ।