नेपालको पर्यटन प्रवद्र्धन गर्न बंगलादेशका १२ फोटो पत्रकार नेपालमा

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा बंगलादेश फोटो पत्रकार संघका १२ जना फोटो पत्रकार नेपाल आइपुगेका छन्। संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको टोलीले भदौ ३ गते मनाइने विश्व फोटोग्राफी दिवसका अवसरमा नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ।
नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारहरूले काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ‘ब्युटिफुल बंगलादेश’ फोटो प्रदर्शनी आयोजना गर्नेछन्। प्रदर्शनीमा बंगलादेशको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन तथा पर्यटनका विविध पक्षलाई तस्बिरमार्फत नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछ।
टोलीले नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनको तीनदिने भ्रमणसमेत गर्नेछ। भ्रमणका क्रममा पोखरा र चितवनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटन गतिविधि तथा स्थानीय जीवनशैलीको अवलोकन गरी तस्बिर तथा दृश्य सामग्री तयार पारिनेछ। उक्त सामग्री बंगलादेशका सञ्चारमाध्यममार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा प्रयोग गरिने बताइएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको निमन्त्रणामा बंगलादेशी फोटो पत्रकार टोली नेपाल आएको हो। अध्यक्ष वन्तका अनुसार बंगलादेश फोटो पत्रकार संघ र नेपालका फोटो पत्रकारहरूको संस्थाबीच विगत २१ वर्षदेखि भाइचारा, सहकार्य र आपसी सम्बन्ध कायम रहँदै आएको छ।
अध्यक्ष वन्तले दुई देशका फोटो पत्रकारबीच हुने भ्रमण, तस्बिर आदानप्रदान तथा पर्यटन प्रवद्र्धनसम्बन्धी गतिविधिले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
“फोटो पत्रकारितामार्फत एकअर्का देशका पर्यटन, संस्कृति, प्राकृतिक सौन्दर्य र जनजीवनलाई विश्वमाझ चिनाउन सकिन्छ। यसले दुई देशबीचको पर्यटन, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारमा सफ्ट डिप्लोमेसीको काम गर्छ,” वन्तले भने।
उनका अनुसार प्रत्यक्ष भ्रमण गरी फोटो पत्रकारहरूले तयार पार्ने तस्बिर तथा दृश्य सामग्रीले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा थप प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारहरूले पोखरा र चितवनका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको तस्बिर खिच्नेछन्।
उक्त सामग्री बंगलादेशका सञ्चारमाध्यम तथा फोटो पत्रकारिताका विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिनेछ। यसबाट नेपालका पर्यटकीय गन्तव्यबारे बंगलादेशी नागरिकलाई जानकारी गराउँदै नेपालमा पर्यटक आगमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएफपीजे नेपालले दुई देशका फोटो पत्रकारबीच कायम २१ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ गर्दै आगामी दिनमा पर्यटन, संस्कृति, पत्रकारिता तथा व्यावसायिक सहकार्यका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
















