आज : २०२६-०८-१५, शनिबार

ओली निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे, एमाले कार्यकर्ताद्वारा भव्य स्वागत

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनमा पराजित भएपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्। शनिबार दिउँसो १ बजे भद्रपुर विमानस्थल हुँदै झापा पुगेका ओलीलाई एमाले नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

एमाले झापाले आयोजना गरेको पार्टी प्रशिक्षण तथा अभियानको सुरुवात गर्न अध्यक्ष ओली झापा पुगेका हुन्। ओलीको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा एमाले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू उपस्थित भएका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन्। २०४८ सालदेखि निरन्तर निर्वाचनमा विजयी हुँदै आएका ओली पछिल्लो निर्वाचनमा भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भारी मतान्तरले पराजित भएका थिए।

ओलीलाई पराजित गर्दै निर्वाचन जितेका बालेन प्रधानमन्त्री बनेपछि हालसम्म झापा पुगेका छैनन्। ओलीको झापा आगमनलाई एमालेको आगामी राजनीतिक अभियान तथा संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ।