आज : २०२६-०७-२६, आइतबार

गढी गाउँपालिका–४ मा श्रम संस्कृति पार्टीको १५ सदस्यीय वडा समिति गठन

मकवानपुर – श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै मकवानपुरको गढी गाउँपालिका–४ मा १५ सदस्यीय वडा समिति गठन गरेको छ। स्थानीय तहमा संगठनलाई सुदृढ बनाउने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्यले वडा समिति गठन गरिएको पार्टीले जनाएको छ।

जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला नगर सचिव राजिना मगरको सभाध्यक्षता तथा जिल्ला उपाध्यक्ष दुर्बा प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला सचिव युवराज राई र प्रदेश सदस्य मणि शाहीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमबाट कृष्णबहादुर थिङको अध्यक्षतामा १५ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित समितिले स्थानीयस्तरमा पार्टीको संगठन विस्तार, जनसरोकारका विषय उठान, श्रमको सम्मान, उत्पादनमुखी अभियान तथा सामाजिक रूपान्तरणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई केवल सदस्य संख्या बढाउने अभियानका रूपमा नभई जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, श्रमलाई सम्मान गर्ने र व्यवहारमै राजनीतिक परिवर्तनको अनुभूति गराउने अभियानका रूपमा अघि बढाइरहेको जनाएको छ।

पार्टीका अनुसार वडा समिति गठनसँगै गढी गाउँपालिका–४ का स्थानीय नागरिकका आवश्यकता र समस्यालाई नजिकबाट अध्ययन गर्दै जनसहभागितामा आधारित सामाजिक तथा विकास निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय तहदेखि नै संगठनलाई थप सुदृढ बनाउँदै श्रम र उत्पादनमा आधारित राजनीतिक संस्कार निर्माण गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने पार्टीले जनाएको छ।