आज : २०२६-०७-२६, आइतबार

४ वर्षीया बालिकाको हत्या, पुरानो रिसइबीका कारण भएको आशंका

मोरङ,- मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत शुक्रबार घरबाट हराएकी थिइन्। उनको शव सोही दिन साँझ घरदेखि करिब २०० मिटर पूर्व रहेको घाँसीबारीमा फेला परेको हो।

प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ। घटनामा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको र विस्तृत अनुसन्धान तथा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।