मनकामनाद्वारा जैविक मल तथा च्याउ खेतीसम्बन्धी १५ दिने तालिम सम्पन्न

रङ्गेली, – मोरङको रङ्गेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंचाको प्राविधिक सहयोगमा सञ्चालित १५ दिने जैविक मल तथा वनस्पतिक विषादी उत्पादन एवं च्याउ खेती, उत्पादन र बजार व्यवस्थापनसम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ।
महिला तथा युवालाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम असार ४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो। तालिममा रङ्गेली नगरपालिकाका विभिन्न वडाका ३० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि रङ्गेली नगरपालिकाकी उपप्रमुख राधिका गौतमले कृषि क्षेत्रमा आधुनिक सीप, प्रविधि र उद्यमशीलताको विकास नै आर्थिक समृद्धिको आधार भएको बताउँदै तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन्। महिलाहरूले कृषि उद्यममार्फत परिवारको आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर बन्न सक्ने विश्वास उनले व्यक्त गरिन्।
मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष कमला न्यौपानेले तालिमले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचको विकास गर्न सहयोग पुग्ने बताइन्। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै जैविक उत्पादन तथा च्याउ खेतीलाई व्यावसायिक रूपमा विकास गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो।
तालिमकी प्रशिक्षक आस्था साहले सहभागीहरूलाई गुणस्तरीय जैविक मल उत्पादन, वनस्पतिक विषादी तयार गर्ने विधि तथा व्यावसायिक च्याउ खेतीका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएकी थिइन्। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले आफ्नै गाउँघरमा कृषि व्यवसाय सुरु गर्न आत्मविश्वास बढेको र बजारमुखी उत्पादनमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। जैविक मल तथा वनस्पतिक विषादीसम्बन्धी तालिमतर्फ अनिता कुमारी झा तथा च्याउ खेतीसम्बन्धी तालिमतर्फ सोनी कुमारी यादवसहित सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सबिना बास्के, सुजता पोखरेल, आस्था शाह, गणेश दाहाल, रिना शर्मा लगायतको उपस्थिति रहेको थियो।
रङ्गेली नगरपालिकाले यस्ता सीपमूलक तथा उत्पादनमुखी तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। स्थानीय सरकारको यस्तो पहलले विशेषगरी महिला उद्यमशीलताको विकास, आर्थिक सशक्तीकरण, आत्मनिर्भरता तथा दिगो कृषि प्रणाली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



















