श्रमदानबाट विपन्न परिवारका लागि घर निर्माण अभियान सुरु, सम्पन्नपछि हर्क साम्पाङको उपस्थितिमा हस्तान्तरण गरिने

मकवानपुर – श्रम संस्कृति पार्टी श्रमदानको संस्कृतिलाई व्यवहारमा उतार्दै एक विपन्न परिवारका लागि घर निर्माण अभियान सुरु गरेको छ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष मन्दिरा मोक्तानको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमा स्थानीय श्रमदाता, समाजसेवी, मनकारी सहयोगी तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ।
आर्थिक रूपमा कमजोर र सुरक्षित आवासको अभावमा रहेका परिवारलाई सम्मानजनक बसोबासको व्यवस्था गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। निर्माण कार्य पूर्ण रूपमा श्रमदान, सामाजिक सहयोग र उत्तरदायित्वको भावनामा आधारित रहेको आयोजकले जनाएको छ। स्थानीय स्वयंसेवकहरूले श्रमदानमार्फत निर्माण कार्यलाई तीव्रता दिएका छन् भने विभिन्न सहयोगीहरूले निर्माण सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन्।
अभियानका संयोजक मन्दिरा मोक्तानले समाज परिवर्तनका लागि भाषणभन्दा श्रमको आवश्यकता रहेको बताउँदै सक्षम व्यक्तिहरूको सानो सहयोग र केही घण्टाको श्रमले पनि विपन्न परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो। उहाँले सबैलाई श्रमदान अभियानमा सहभागी हुन आग्रहसमेत गर्नुभयो।
श्रम संस्कृति पार्टीले विगतदेखि देशका विभिन्न जिल्लामा श्रमदानमार्फत खानेपानी, सडक, विद्यालय, पुल तथा विपन्न परिवारका लागि घर निर्माणजस्ता सामाजिक अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै मकवानपुरको अभियान पनि त्यसैको निरन्तरता भएको जनाएको छ।
निर्माणाधीन घर सम्पन्न भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको प्रमुख आतिथ्यतामा नवनिर्मित घर सम्बन्धित विपन्न परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, श्रमदाता, सहयोगी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार घर हस्तान्तरण कार्यक्रम केवल भवन हस्तान्तरणमा सीमित नभई श्रम, सहयोग, एकता र मानवीय सेवाको सम्मान गर्ने अवसरका रूपमा आयोजना गरिनेछ। साथै श्रमदानको संस्कृतिलाई देशव्यापी रूपमा विस्तार गर्दै विपन्न समुदायको जीवनस्तर उकास्ने अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको पार्टीले जनाएको छ।
श्रम संस्कृति पार्टी मकवानपुरले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण श्रमदाता, सहयोगी, शुभेच्छुक र स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाज रूपान्तरणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


















