आज : २०२६-०६-३०, मङ्गलबार

पनौतीमा सुकुम्बासी बस्ती हटाउने तयारीप्रति श्रम संस्कृति पार्टीको ध्यानाकर्षण

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीले बुझाएको ध्यानाकर्षण पत्रमा वास्तविक सुकुम्बासीको वैज्ञानिक र निष्पक्ष पहिचान गर्न, पहिचान भएका परिवारलाई वैकल्पिक सुरक्षित आवासको उचित व्यवस्था नगरी कुनै पनि परिवारलाई विस्थापित नगर्न तथा पुनर्स्थापनाको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र स्थान खाली गराउने सूचना जारी गर्नुपर्ने माग गरिएको छ।

श्रम संस्कृति पार्टीले नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, आवासको अधिकार तथा सामाजिक न्यायको मर्मअनुसार गरिब, विपन्न र भूमिहीन नागरिकमाथि अन्याय हुन नदिन राज्य गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरेको छ। विकास र व्यवस्थापनका नाममा गरिब नागरिकलाई सडकमा पुर्‍याउने कार्य कुनै पनि हिसाबले स्वीकार्य नहुने पार्टीको स्पष्ट भनाइ छ।

पार्टीका प्रतिनिधिहरूले प्रशासनसँग मानवीय संवेदनशीलता अपनाई संवाद, समन्वय र न्यायपूर्ण समाधानमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता बिना घर भत्काउने वा बलपूर्वक हटाउने कुनै पनि कदमले सामाजिक द्वन्द्व सिर्जना गर्न सक्ने भएकाले त्यसतर्फ विशेष सचेत रहन प्रशासनलाई अनुरोध गरिएको छ।

“पहिले पहिचान, त्यसपछि पुनर्स्थापना, अनि मात्र व्यवस्थापन” भन्ने मूल मान्यताका साथ श्रम संस्कृति पार्टीले सुकुम्बासी नागरिकको सम्मानजनक जीवन, मौलिक अधिकार तथा सामाजिक न्यायको संरक्षणका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता समेत जनाएको छ।