आज : २०२६-०६-११, बिहीबार

रंगेली प्रहरीको नेतृत्वमा झा आउँदै

रबिन्द्र बराल-मोरङको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक नगेन्द्र बोगटीको सरुवा भएको छ। बोगटीको गण्डकी प्रदेश प्रहरी कार्यालय, बजेट शाखा, पोखरामा सरुवा भएपछि उनको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे, मकवानपुर तथा काजमा इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी निरीक्षक अशोककुमार झा रंगेली आउने भएका छन्।

प्रहरी निरीक्षक बोगटीले रंगेलीमा कार्यरत रहँदा शान्ति–सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान तथा फरार अभियुक्त पक्राउजस्ता कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणमा उनले सक्रियता देखाएका कारण उनी चर्चामा समेत रहेका थिए।

अब रंगेलीको नेतृत्व सम्हाल्न आउन लागेका प्रहरी निरीक्षक अशोककुमार झासामु पनि विभिन्न चुनौतीहरू रहेका छन्। भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले दैनिक रूपमा हुने अवैध सामान ओसारपसार, लागूऔषध कारोबार तथा राजस्व चुहावट नियन्त्रणका लागि प्रभावकारी सुरक्षा रणनीति आवश्यक देखिएको छ।

यसका साथै लागूऔषध दुर्व्यसन तथा कारोबारविरुद्ध अभियानलाई थप सशक्त बनाउने, विद्यालय तथा समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, ट्राफिक व्यवस्थापन सुधार तथा सडक दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै स्थानीय नागरिकसँगको सहकार्यलाई मजबुत बनाउनु पनि नयाँ नेतृत्वको प्राथमिकतामा पर्ने विश्वास गरिएको छ।

प्रहरी निरीक्षक अशोककुमार झाले रंगेली क्षेत्रका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै परिणाममुखी कार्यसम्पादन गर्ने अपेक्षा स्थानीयवासी तथा सरोकारवालाले गरेका छन्।