
काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनी कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ।
पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। तर हालै पित्तथैलीको पत्थरीको शल्यक्रिया गराएका उनी स्वास्थ्य लाभकै क्रममा रहेकाले कार्यक्रममा सहभागी हुन नसकेका हुन्। उनी बैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।
यसअघि ओलीलाई चैत १४ गते पक्राउ गरी चैत २६ गते रिहा गरिएको थियो। स्वास्थ्य सुधारपछि उनी पुनः सक्रिय हुने तयारीमा रहेका छन्।
कार्यक्रममा उपत्यकाभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी तथा समर्थकहरूलाई उपस्थित हुन आह्वान गरिएको छ। नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।