
काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका छन्। यसअघि अध्यक्ष परिषद् सदस्य पदबाट चैत १८ गते राजीनामा दिएका उनले अब पार्टीको साधारण सदस्यता समेत त्याग्दै पूर्ण रूपमा अलग भएका हुन्।
किराँतीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै छोटो अवधिमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। करिब पाँच महिनाको राजनीतिक यात्रामा प्राप्त अनुभवलाई उनले सकारात्मक रूपमा लिएको बताएका छन्।
माओवादी र एकीकृत समाजवादी लगायत शक्तिहरूको एकतापछि बनेको नयाँ समीकरणसँगै प्रलोपामा प्रवेश गरेका किराँती पछिल्ला दिनहरूमा भने पार्टीबाट टाढिने संकेत देखाउँदै आएका थिए।
उनले पार्टी छोडे पनि व्यक्तिगत सम्बन्धहरू भने यथावत् रहने उल्लेख गरेका छन्। साथै आगामी दिनमा राजनीतिक यात्रा सहज नहुने स्वीकार्दै देश र जनताको पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।