
काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक गरेको सूचनाअनुसार सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देख्न मिल्ने यो चन्द्रग्रहण विशेष महत्वको हुनेछ।
सोसाइटीका अनुसार ग्रहण चन्द्रोदयसँगै सुरु भई राति ७:०२ बजेसम्म रहनेछ। मौसम सफा रहे देशका विभिन्न भागबाट यसलाई सजिलै देख्न सकिने जनाइएको छ। चन्द्रग्रहण हेर्न टेलिस्कोप वा अन्य विशेष उपकरण अनिवार्य नपर्ने पनि जानकारी दिइएको छ।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले खुला स्थानबाट अवलोकन गर्दा राम्रो देखिने बताए। उनका अनुसार घरको छत, खुला मैदान वा वरपरको डाँडाजस्ता स्थान उपयुक्त हुनेछन्। चन्द्रोदयकै समयमा ग्रहण सुरु हुने भएकाले पूर्व दिशातर्फ अवरोध नहुने स्थान छनोट गर्न सुझाव दिइएको छ।
वैज्ञानिक रूपमा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्ने भएकाले चन्द्रग्रहण देखिन्छ। चन्द्रमाको आफ्नै प्रकाश नभएकाले छायाँ पर्दा त्यसको केही भाग अँध्यारो देखिने गर्छ। चन्द्रमाको कक्षा पृथ्वीको कक्षीय धरातलसँग केही डिग्री झुकेको भएकाले प्रत्येक पूर्णिमामा भने ग्रहण लाग्दैन।
प्राचीन ज्योतिष परम्परामा चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई राहु र केतु नाम दिइएको पाइन्छ।