
काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए १०० दिनभित्रै सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक वाचापत्रमा रास्वपाले आम नागरिकको कमाइ सुरक्षित गर्न ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने योजना राखेको उल्लेख छ। यस कोषमार्फत संकटग्रस्त संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी सुरु गरिनेछ।
पार्टीले स्पष्ट पारेको छ, “हाम्रो उद्देश्य सञ्चालकलाई कारबाही गर्नु मात्र होइन, बचतकर्ताको रकम फिर्ता गराउनु हो। सञ्चालक नियम अनुसार रकम फिर्ता गर्न तयार भए कानुनी बाटोमार्फत मिलापत्रको अवसर दिनेछौँ।”
वाचापत्र अनुसार बचत फिर्ताको पूर्ण ग्यारेन्टीसहित समयसीमा तय गरी साना बचतकर्ताबाट सुरु गरी भुक्तानी सुनिश्चित गरिनेछ।