
काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा सरकार आएमा दुई वर्षमा बन्नुपर्ने बाटो डेढ वर्षभित्रै पूरा हुने बताएका छन्। धनगढीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो एजेन्डा सार्वजनिक गरे।
बालेनले भने, “दुई वर्षमा बन्ने बाटो २० वर्षसम्म पनि पूरा नहुने अवस्था छ। हाम्रो योजना अनुसार डेढ वर्षमै बाटो निर्माण गर्नुपर्छ। रुखमा बाँधेर होस् वा बाटोमा सुताएर, खोरमा जाकेर होस्, बाटो बनिनै पर्छ।”
सुदूरपश्चिममा विकासको ढिलाइ गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले रास्वपा सरकार आए सबै नेपालीका लागि बाटो निर्माण गरिने बताए। कांग्रेस, एमाले वा माओवादीले पनि हिँड्ने बाटो पाउने व्यवस्था हुने र यसले सबै नेपाली जनतालाई लाभ पुग्ने उनको भनाइ थियो।