News Portal

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

५१ पटक

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै लाइसेन्स पाउने अवस्था छैन। यातायात व्यवस्था विभागको लाइसेन्स छपाइ प्रणाली प्रभावित भएपछि ‘अति आवश्यक’ श्रेणीमा पर्ने सेवाग्राहीले समेत कम्तीमा १० दिन कुर्नुपर्ने बाध्यता आएको छ।

विभागको मास प्रिन्टर मेसिन ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि लाइसेन्स छपाइ अवरुद्ध भएको हो। मेसिन मर्मत हुन नसकेपछि सरकारले सरकार–सरकार (G2G) सम्झौतामार्फत सुरक्षण मुद्रण केन्द्रलाई छपाइको जिम्मा दिएको छ। तर विवरण पठाउने र छापिएर फिर्ता आउन समय लाग्ने भएकाले सेवाग्राहीले पहिलेजस्तै छिटो लाइसेन्स पाउन सकेका छैनन्।

विशेष कारण खुलाएपछि मात्र प्राथमिकता

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार हाल सबैलाई होइन, स्पष्ट र प्रमाणित कारण खुलाउने सेवाग्राहीलाई मात्र प्राथमिकतामा राखिएको छ।

विदेश जानेहरूले भिसा लागेको कागजात, अध्ययनका लागि जानेले शैक्षिक प्रमाणपत्र, शान्ति मिसनमा जानेले कार्यालयको पत्र र स्वदेशमै रहेका सेवाग्राहीले कार्यालयको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कागजात जाँचपछि मात्र लाइसेन्स छपाइका लागि विवरण पठाइने गरिएको विभागले जनाएको छ।

देशभर ३० लाखभन्दा बढी लाइसेन्स छापिन बाँकी

हाल देशभर नयाँ र नवीकरण दुवै गरी ३० लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागको तथ्याङ्क छ। संघीय संरचना अनुसार लाइसेन्स छपाइको जिम्मेवारी प्रदेश सरकारलाई दिने भनिए पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन।

बागमती प्रदेशले मेसिन खरिद गरे पनि अझै प्रयोगमा ल्याउन सकेको छैन भने अन्य प्रदेशले मेसिन नै नकिनेकाले सम्पूर्ण भार केन्द्रमै परेको छ।

यसले गर्दा पहिलेजस्तै सहज रूपमा लाइसेन्स पाइने आशामा विभाग पुग्ने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन्। काभ्रेका डम्बर लामा दुबई फर्किने समय नजिकिँदै गर्दा पनि लाइसेन्स नपाएको भन्दै चिन्तित देखिन्छन्। “निवेदन दिएको पाँच दिन भइसक्यो, अझै कुर्नुपर्छ भनियो,” उनले गुनासो गरे।

लाइसेन्स लिन जाँदा के–के चाहिन्छ ?

  • राजस्व तिरेको सक्कल रसिद अनिवार्य
  • नवीकरणका लागि पुरानो स्मार्ट कार्ड बुझाउनुपर्ने
  • आफैं जान नसके नजिकको आफन्तले आवश्यक कागजात र परिचयपत्रसहित लिन सक्ने
  • रसिद वा कार्ड हराएको खण्डमा ट्राफिक प्रहरीको वेबसाइटबाट ‘लस डकुमेन्ट’ फाराम भरी कोड प्रिन्ट गरेर लैजानुपर्ने

विभागले लाइसेन्स लिन कार्यालय जानुअघि आफ्नो आधिकारिक फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ अनिवार्य जाँच गर्न आग्रह गरेको छ। छपाइ भइसकेका लाइसेन्सको विवरण त्यहीँ सार्वजनिक गरिने भएकाले नाम आएको सुनिश्चित भएपछि मात्र कार्यालय जान उपयुक्त हुने विभागको सुझाव छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...