
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ।
आइतबार भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्क) तथा केही टिनका भाग भेटिएको हो। बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसका केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै थप खोतल्ने काम सुरु गरेको छ। अवशेष फेला परेपछि १८ महिनाअघि भएको उक्त भीषण दुर्घटनाको स्मृति फेरि ताजा बनेको छ।
उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।
दुर्घटनाका समयमा दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १९ जनाको शव फेला परेको थियो। बाँकी ४३ जना यात्रु हालसम्म पनि बेपत्ता रहेका छन्।
घटनासँग सम्बन्धित थप अवशेष तथा बेपत्ता यात्रुको खोजीबारे प्रहरी र सम्बन्धित निकायले अनुसन्धानलाई निरन्तरता दिएका छन्।