
काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक तथा सार्वजनिक स्थानमा मानिसहरूको आवतजावत कम देखिएको छ। केही सातादेखि निरन्तर रूपमा शीतलहर बढ्दै जाँदा वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी समस्यामा परेका छन्।
गाउँघर तथा चोक–चोकमा स्थानीय युवादेखि वृद्धसम्म घरआँगन तथा सडक किनारमा पराल र दाउरा बालेर शरीर तताउँदै गरेको दृश्य देख्न सकिन्छ। रंगेली बसपार्क, मुख्य चोक, चोप्राह, पिपल चोक, भन्सा चोक लगायतका स्थानमा बिहानैदेखि आगो ताप्नेहरूको भीड लागेको छ।
रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरीलगायतका क्षेत्रमा पछिल्लो एक सातादेखि बाक्लो हुस्सु र शीतलहरका कारण जाडो अत्यधिक बढेको छ। पुस महिना सुरु भएसँगै घाम नलाग्दा विपन्न बस्तीका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयवासीका अनुसार पुस लागेपछि घाम दुर्लभजस्तै बनेको छ। बिहानै काममा निस्कँदा हातखुट्टा कठ्यांग्रिएर काम गर्न मुस्किल हुने गरेको उनीहरू बताउँछन्। शीतलहर अझै केही दिन जारी रहने सम्भावना रहेकाले स्वास्थ्यप्रति सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन्।