
रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक विगत ८० वर्षदेखि ५ धुर जग्गामा बसोबास गर्दै आएका जागेश्वर कामत र उनकी श्रीमती फूलदेवी कामत वृद्ध अवस्थामा रहे पनि पालनपोषण गर्ने कोही नहुँदा बिचल्लीमा परेका थिए।
उक्त अवस्थाबारे हिमाली सञ्चार, एभिन्युज टेलिभिजन तथा विभिन्न अनलाइन माध्यममा समाचार सम्प्रेषण भएपछि सो परिवारलाई खाद्यान्न राहत हस्तान्तरण गरिएको हो।
रङ्गेली–७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले पीडामा परेका तथा गरिब परिवारलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ। सोही क्रममा उक्त परिवारलाई चामल, तेल, नुन, मसला, चिनी, चिया पत्ती, साबुन लगायतका सामग्री वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, चन्दन मण्डल, पत्रकार बिरेन्द्र साह, एभिन्युजका रबिन्द्र बराल तथा स्थानीय मोहताव आलम लगायतको उपस्थिति रहेको थियो।
