– खगेन्द्र गिरि कोपिला
मुक्तक – १
मायाको रङ मायाले गाढा हुन सक्छ
कोही फूल भए कोहि काँडा हुन सक्छ
समाल्न नजानेमा मनभित्रको मन
कोही नजिक हुँदा कोही टाढा हुन सक्छ
मुक्तक – २
हामी खै कहाँ डुब्न थाल्यौं, ख्यालख्याल मैं
टाढा टाढा पो पुग्न थाल्यौं, ख्यालख्याल मैं
के भो? कसरी भो? किन भो? थाह छैन
तर माया पो गर्न थाल्यौं, ख्यालख्याल मैं
मुक्तक – ३
मौसम बदलिए पनि याद नबदलिओस्
रहर बदलिए पनि प्यास नबदलिओस्
बगिरहोस् समय सधैं सपनाजस्तै
बाटो बदलिए पनि साथ नबदलिओस्
मुक्तक – ४
सम्झनाभन्दा कुनै ठूलो आशा छैन
तृष्णाभन्दा कुनै अर्को निराशा छैन
नबोले नि, बोलेझैं लाग्ने, यो संसारमा
मौनताभन्दा कुनै ठूलो भाषा छैन
मुक्तक – ५
हृदयका भाव प्राय: नखोलेरै मीठा हुन्छन्
सम्झना त कतै पनि नघोलेरै मीठा हुन्छन्
आँखा चिम्ली बस्ने बेला नजिकजस्तो लागेपछी
कतिपय कुराहरु नबोलेरै मीठा हुन्छन्
मुक्तक – ६
टाढा छु तर मनबाटै याद गर्छु म
भावनामा सधैं नै साथ गर्छु म
तिमीझैं आतूर बन्न नसके पनि
साँच्चै तिमीलाई धेरै प्यार गर्छु म
मुक्तक – ७
अनायास आयौ र दिलको ढोका ढक्ढकायौ,
छोएर मलाई कहाँ पो खै झक्झकायौ ?
म बेहोसजस्तै बनेर, भएँ मग्न मस्त,
कसरी फूलझैं मभित्र तिमी मग्मगायौ?
मुक्तक – ८
प्रेममा हार समर्पणको लायक हुन्छ
युद्धमा विजय जरुरी सायद हुन्छ
तर भन्नेहरु हरदम भनिरहन्छन्
प्रेम र युद्धमा जे पनि जायज हुन्छ ।।
आदर्शमार्ग, नेपालगन्ज – बाँके।