News Portal

कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

३७२ पटक

विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ ठगी भएको खुलेको छ । पसलका सञ्चालक र स्थानीय एमाले नेता मनोज अधिकारी १२ करोड रुपैयाँसहित फरार भएका छन् । उच्च ब्याज दिने प्रलोभन देखाएर उनले २४१ भन्दा बढी सर्वसाधारणबाट रकम संकलन गरेका थिए ।

अधिकारी वैदेशिक रोजगारीमा रहेका कामदारदेखि दैनिक ज्यालादारी गर्ने श्रमिकसम्मलाई समेत बचत राख्न प्रलोभन देखाउँदै योजनाबद्ध रूपमा ठगेका हुन् । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू बिचल्लीमा परेका छन् । अधिकारी कानेपोखरी अस्पताल सञ्चालक समितिका सदस्यसमेत थिए । उनका बुबा होमनाथ र दाइ अमेरिका बसोबास गर्दै आएका छन् भने आमा र श्रीमती गाउँकै घरमा छन् ।

यो घटनापछि पीडितहरू आन्दोलित भएका छन् । ३० लाख रुपैयाँ फसेकी पीडित विष्णुमाया गिरी अधिकारीको घरमै धर्ना बसेकी छिन् । आँसु झार्दै उनले भनिन्, “पाँच–सात दिनदेखि भात खाएकै छैन, पैसा नपाएसम्म यहीँ बस्छु ।” अर्का पीडित पर्शुराम फुयाँलले पनि ९ लाख २० हजार रुपैयाँ डुबेको बताए ।

पीडितहरूले स्थानीय पालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालयमा गुहार मागे पनि औपचारिक निवेदन दिएका छैनन् । व्यक्तिगत सुन पसलमा रकम जम्मा गर्नु कानुनविरुद्ध हुने र अधिकांश रकममा प्रमाणपत्र (पासबुक) नहुँदा कानुनी कारबाही अघि बढाउन कठिन भएको पीडितहरूको भनाइ छ ।

फरार अधिकारीविरुद्ध नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन भएको छ । समितिले अधिकारीको नाममा रहेको करिब एक बिघा जग्गा बिक्री गरेर रकम फिर्ता गर्ने प्रयास गरिरहेको दाबी गरेको छ । तर जग्गा हाललाई काशीराज थापाको नाममा पास गरिएको र प्लटिङ गरेर व्यक्तिगत लाभ लिन खोजिएको आरोप समितिमाथि पनि लागेको छ । समितिका नेतृत्व पौडेलले भने आफूले पीडितको हितका लागि मात्रै काम गरिरहेको र बदनाम गर्न राजनीतिक पूर्वाग्रहले षड्यन्त्र गरिएको दाबी गरेका छन् ।

स्थानीय सरकार र न्यायिक समिति भने यो घटनामा प्रभावकारी देखिएको छैन । कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले घटनाबारे पूर्ण जानकारी नभएको दाबी गर्दै पीडितहरूले आफैंले समिति बनाएर अघि बढेकाले पालिकाले हाल अवस्था बुझिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...