आज : २०२६-०६-१५, सोमबार

जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार महोत्तरीको बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झालाई सोमबार पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

हत्या भएको युवक महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव उर्फ ‘शनि’ हुन् । प्रहरीका अनुसार शनिबार राति ९:५५ बजे उनी र जुली झा एकैसाथ जनकपुरधामको सो गेष्टहाउसमा प्रवेश गरेका थिए । त्यसपछि के भएको थियो भन्नेबारे पूर्ण विवरण बाहिर आइसकेको छैन, तर प्रारम्भिक अनुसन्धानले शनि माथि छुरा प्रहार गरिएको र उनलाई गेष्टहाउसको पहिलो तल्लाबाट धकेलिएको संकेत गर्छ ।

घाइते अवस्थामा उद्धार गरिएका शनि उपचारको क्रममा आइतबार बिहान ज्यान गुमाएका थिए । घटनापछि झा गेष्टहाउसबाट फरार भएकी थिइन् । तर, गेष्टहाउसको सीसीटीभी फुटेजमा उनलाई घटनास्थलबाट भाग्दै गरेको दृश्य स्पष्ट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले शनि यादवको हत्यामा जुली झाको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ । दुवै जना होटलमा एकैसाथ प्रवेश गरेको विवरण र हत्या हुनुअघि देखिएका गतिविधिहरूका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।