आज राजावादी समूहको प्रदर्शन स्थगित, कमलादीमा दीप प्रज्वलन कार्यक्रम

काठमाडौं, जेठ १९ – राजसंस्थाको समर्थनमा सक्रिय संयुक्त जनआन्दोलन समितिले आजको लागि तय गरिएको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा सोमबारलाई ‘शोकको दिन’ घोषणा गर्दै कुनैपनि जुलुस, धर्ना वा नाराबाजी नगर्ने जानकारी दिइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दिवङ्गत राजपरिवारका सदस्यहरूको सम्झनामा नेपाली जनताको मन अझै पीडामा रहेको र यस्ता घडीमा आन्दोलनात्मक कार्यक्रम गर्नु उचित नहुने निष्कर्ष समितिले निकालेको छ।
यद्यपि, दिवङ्गत आत्माहरूको चिर शान्तिको कामनासहित आज साँझ ६ बजे काठमाडौंको कमलादीस्थित गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने समितिले जनाएको छ। सो कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने सम्पूर्ण नेपालीलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न समिति आग्रह गरिएको छ।

















