श्री ५ को चर्चा भयो भने श्री ३ पनि फर्काउने? सांसद रिजालको जिज्ञासा

१४ वैशाख, काठमाडौं – नेपालमा जननिर्वाचित संविधान सभाले राजतन्त्र अन्त्य गरेको तथ्य स्मरण गराउँदै नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राप्रपाप्रति व्यङ्ग्य गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राप्रपाको राजसंस्थाको पक्षमा उठेको आवाजप्रति गम्भीर प्रश्न उठाएका हुन्।
सांसद रिजालले नेपालको इतिहासलाई सम्झँदै भने, “त्रिभुवन, नेहरु र मोहन शमशेरबीच भएको सम्झौताबाट नेपालमा श्री ३ को युग समाप्त भयो भने, २०६५ साल जेठ १५ गते संविधान सभाले श्री ५ अर्थात् राजतन्त्र पनि समाप्त गरेको हो।”
त्यस क्रममा उनले राप्रपालाई लक्षित गर्दै कटाक्ष गरे, “यदि जनप्रतिनिधिहरूले बिदा गरेको श्री ५ पुनःस्थापित गर्न खोजिन्छ भने सम्झौताको आधारमा बिदा गरिएको श्री ३ पनि किन फर्काइँदैन?”
रिजालले राप्रपाको प्रस्तावप्रति व्यङ्ग्य गर्दै थपे, “ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउन चाहनेहरू मोहन शमशेरका नाति पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ का रूपमा फर्काउने कुरा किन नगर्ने?”
उनको टिप्पणीले राजसंस्थाप्रति बहस मात्र होइन, विगतको ऐतिहासिक घटनाक्रमप्रति सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याएको देखिन्छ।

















