News Portal

एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि ५, २०२५ सम्म हुने भनिएको एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने प्रस्ट पारेको छ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष शेष घले र अन्य सदस्यहरूले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मिति कुनै पनि हालतमा सारिने छैन भन्ने दृढता व्यक्त गरे।

अध्यक्ष घलेले महाधिवेशन सर्वोच्च अदालतको परमादेशअनुसार नै सम्पन्न गर्न आफू र टोली सक्रिय रूपमा लागेको बताए। उनले यो अवसरलाई संस्था एकताबद्ध गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै चुनौतीहरूलाई पार गर्दै अघि बढिरहेको बताए। यद्यपि बद्री केसी समूहले सहयोग नगरे पनि आफ्नो नेतृत्वमा रहेको समिति पारदर्शी ढंगले काम गरिरहेको र हरेक गतिविधिको जानकारी सबै सदस्यलाई इमेलमार्फत दिइएको घलेले बताए।

एनसीसीको अधिवेशन नगरी आइसिसीको महाधिवेशन गर्न खोजिएको हो भन्ने प्रश्नमा, डा. घलेले सर्वोच्च अदालतले एनसीसीबारे केही उल्लेख नगरेको र समस्या आइसिसीमा भएकाले त्यसअनुसार नै अघि बढिएको स्पष्ट पारे। “एनसीसीहरू स्वायत्त निकाय हुन्, हामी तिनीहरूसँग समन्वय गरिरहेका छौं,” उनले भने।

उनका अनुसार धेरै डेलिगेट्स काठमाडौँ आउन थालिसकेका छन्, फ्लाइट र होटेल बुकिङ भइसकेको छ, त्यसैले महाधिवेशन स्थगन गर्नु अपराध सरह हुने उनले बताए।

“मसँग व्यक्तिगत कुनै स्वार्थ छैन, सबैको अधिकार बराबर छ,” घलेले भने, “मैले अदालतको आदेश पालना गर्दै जिम्मेवारी सम्हालिरहेको छु।”

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले अप्रिल ७ सम्म ६३ हजारभन्दा बढीले सदस्यता लिइसकेको र डेलिगेट बन्ने आवेदन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्। अप्रिल २० सम्म २,७२० जनाले डेलिगेट बन्न आवेदन दिइसकेको उल्लेख गर्दै आवश्यक कागजात परीक्षणपछि अन्तिम नामावली सार्वजनिक गरिने बताइन्।

सचिवालयसमेत सम्हालिरहेकी गुरुङले सर्वोच्च अदालतको निर्देशन पालना गर्न लिखित आग्रहहरू आए पनि बद्री केसी समूहले सचिवालय र एमआइएस सिस्टममा पहुँच नदिएको गुनासो गरिन्।

आर्थिक उपसमितिका संयोजक कुल आचार्यले कार्यक्रम सभ्य र भव्य बनाउन आर्थिक अभाव नहुने भन्दै हालसम्म ५० लाख रुपैयाँ सहयोग संकलन भइसकेको र थप सहयोग प्राप्त भइरहेको जानकारी दिए।

एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले पनि सबै एनसीसीहरूसँग समन्वय गर्दै अधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताए।

प्रचार प्रसार समितिकी संयोजक रबिना थापाले लचिलो ढंगले महाधिवेशन सम्पन्न गर्न समिति क्रियाशील रहेको बताउँदै अहिलेको विधानअनुसार सबै पञ्जीकृत सदस्य डेलिगेट बन्न सक्ने र उनीहरू आइसिसीको जुनसुकै पदमा उम्मेदवार हुन सक्ने जानकारी दिइन्। यो महाधिवेशन संस्था सुदृढ लोकतान्त्रिक संरचनातर्फ अघि बढाउने कोसेढुङ्गा हुने उनले विश्वास व्यक्त गरिन्।

अन्त्यमा, उच्चस्तरीय समितिले अप्रिल २२ राति ११:५९ बजे (नेपाल समय) भित्र आफ्नो वेबसाइट www.nrnahlc.com मा गएर डेलिगेट बन्न पञ्जीकृत सदस्यहरूलाई आवेदन दिन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...